arrow

शीर्ष तीन नेताको बालुवाटार जमघट : निर्वाचनको मिति तोक्न सहमत

भोको बैठक सकियो, अबको बैठक खाएरै

logo
प्रकाशित २०७३ मंसिर २८ मंगलबार
PM-nepal-aaa.jpeg

काठमाडौं । प्रमुख राजनीतिक दल काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु दलीय सम्वाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्ने विषयमा सहमत भएका छन्  ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारी निवास बालुवाटारमा बोलाएको शीर्ष नेताको बैठकमा संविधान संशोधन, अख्तियार प्रमुखविरुद्धको महाअभियोग प्रस्ताव, तीनै तहको निर्वाचन, निर्वाचन सम्बन्धि कानून, निर्वाचन क्षेत्र निर्धारण लगायतका राजनीतिक सवालमा सम्वाद जारी राख्ने र सहमतिबाटै निकास खोज्ने समझ्दारी भएको हो ।

बैठकबाट बाहिरिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई थाती राखेर भए निर्वाचनमा जाने या सँगसँगै दुवै प्रक्रिया लैजाने भन्नेबारे छलफल भएको बताए । ‘निर्वाचन सम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचन मिति घोषणा गर्नेबारे सकारात्मक छलफल भएको र सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा हामी एक मत भएका छौं । निर्वाचनबारे थप छलफल हुन बाँकी छ –ओलीले संचारकर्मीसँग भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन र निर्वाचनबारे छलफल भएको र निर्वाचनमा जान सबै नेताहरु सहमत भएको बताए । यद्यपि, देउवाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक भने एमालेले भनेजसरी फिर्ता नहुने सुनाए । प्रधानमन्त्री सिरहा जाने र एमालेको पनि बैठक भएकाले संविधान संशोधन विधेयकका विषयमा के गर्ने भन्ने निक्र्योल नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले हाम्राकुरालाई जानकारी दिए ।

आचार्यका अनुसार बैठक ढाईघण्टा चलेको थियो । यस्तै, नेताहरु भोकभोकै बैठकमा बसेकाले पनि छलफल छोट्याएको र बाँकी विषयमा फेरि छलफल गर्ने सहमति भएको आचार्यले बताए । प्रधानमन्त्री दाहाल मंगलबार दिउँसो सिरहा जाँदै छन् भने, एमालेले संविधान संशोधन विधेयकप्रति असन्तुष्ट दलहरुको बैठक बोलाएको छ ।   

यस्तै, छिटै विषयकेन्द्रित बैठक  गरेर टुंगोमा पुग्ने समझदारी समेत नेताहरुबीच भएको छ । बसेको बैठकमा प्रधानमन्त्री दाहाल सहित, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ