उही बाटाेबाट चीनले छलाङमार्दा नेपाल किन दलदलबाट उठ्न सकेन ?

प्रकाशित मिति : २०७३ मङ्सिर ३० बिहिबार , ३,३६० पटक हेरिएको
तस्वीर : हाम्राकुरा
काठमाडौं । कुनैबेला कूल गार्हस्थ उत्पादनमा १५ प्रतिशत हाराहारीको हिस्सा ओगटेको नेपाली उद्योग क्षेत्र अहिले ५ प्रतिशतको हिस्सा ओगटेर बस्न बाध्य रहेको छ । दैनिक १५ सयको हाराहारीमा नेपालीहरु विदेशमा रोजगारीको लागि जाने गरेको तथ्याङ्क पनि धेरै पहिले को हो । जुन अझै घट्न सकिरहेको छैन । 
 
वैदेशिक व्यापारमा आयातको हिस्सा निर्यातको तुलनामा १२ गुणसम्म बढी हुन लागिसकेको छ । जसले गर्दा नेपाली अर्थतन्त्र सधैंभरी व्यापारघाटा बेहोर्ने मुलुकको रुपमा अग्र स्थान तर्फ अघि बढीरहेको छ । 
 
केही दशक अघिसम्म हामीहरुसँगको समान अर्थतन्त्र रहेका मुलुकहरु अहिले नेपाली कामदार बोलाएर रोजगारी दिने हैसियतमा पुगिसकेका छन् । अरुको त कुरै छाडौं विश्व अर्थतन्त्रमा दोस्रो स्थानमा रहेको र कतिपय सूचकांकहरुमा त अग्र स्थान नै हाँसिल गरिसकेको छिमेकी मुलुक चीन समेत १९७०को दशकसम्म नेपालसँग समान अर्थतन्त्रको हैसियतमा थियो भन्ने कुरा जानकारहरु बताउँछन् । 
 
माथिका यी तथ्यहरू सुन्दै जाँदा एउटा गम्भीर प्रश्न सबैको मनमा आउने गरेको छ कि किन चीनले यति धेरै प्रगतिको फड्को मार्दा समेत नेपालले भने विकासको बाटोमा बामे सर्न समेत सकेन ? रोजगारी सिर्जना गर्नको लागि कुन पक्ष मुख्य दोषी देखिन्छ ? यी र यावत प्रश्नहरु विकासको बारेमा नेपालीसँग जो कोहीले पनि सोध्न सक्ने विषय हो ।
 
कुनैपनि मुलुकको आर्थिक विकासको मूल आधार भनेको उक्त मुलुकमा उद्योग धन्दाको विकास हुनु हो । उद्योगको विकास विना मुलुकले समृद्धिको सीमा भेट्नु असहज हुन्छ । तर, नेपालमा भने उद्योग धन्दा तर्फ होईन कि व्यापार तर्फ मात्रै धेरैको चाहाना हुँदा मुलुकले न त औद्योगिक विकास गर्न सक्यो । न त अर्थतन्त्रको नै विकास गर्न सक्यो । 
 
किन भएन नेपालमा उद्योगधन्दाको विकास ?
नेपाल उद्योग वाणिज्य महासंघकमा लामो समयसम्म महानिर्देशक बनेका एवं नेपाल उद्योग परिसंघका अहिलेका महानिर्देशक मेघनाथ न्यौपाने राजनीतिक अस्थिरता नै औद्योगिक विकासको सबैभन्दा ठूलो बाधक रहेको बताउँछन् । 
 
उनी कुनैपनि निकायमा सम्बन्धित जानकारलाई पन्छाएर आफ्ना मान्छे भर्ति गर्ने प्रवृत्ति हरेक सरकारका मन्त्रीहरुको रहन्छ जसले गर्दा राम्रा मान्छे बस्न सक्दैनन् र नराम्रा मान्छेले कामगर्न सक्दैनन् । अनि यसको असर पनि यही क्षेत्रमा पर्दछ । 
 
पुँजीको अभाव, पूर्वाधारको अभाव लगायतका कुरा त पछिको कुरा हो । अहिले त कस्तो अवस्था छ भने उद्योगमा लगानी गर्नेहरुले पनि विद्याुत पनि आफैं ल्याउनु पर्ने, अन्य आवश्यक सबै समग्रीहरु पनि आफैं ल्याउनु पर्ने अबस्था छ । यति गर्दा पनि राजनीतिक हस्तक्षेप र मजदूरको समस्याले उनीहरु आफैं समस्याग्रस्त हुन्छन् । अनि कसरी हुन्छ उद्योगको विकास ? 
 
उता, नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स उपाध्यक्ष एवं रोजगारदाता परिषद्का अध्यक्ष समेत रहेका शेखर गोल्छा जबसम्म नेपालमा लगानीको वातावरण बन्दैन तबसम्म अन्तराष्ट्रिय लगानी भित्रिने सम्भावना नरहेको बताउँछन् । 
 
थुप्रै चुनौतीहरुका कारणले नेपालमा अन्तराष्ट्रिय लगानी भित्रिन नसकेको बताउँदै गोल्छाले भने ‘हामीले विदेशी लगानी भित्र्याउनको लागि र स्वदेशी लगानीको लागिको प्रोत्साहन गर्नका लागि पनि धेरै चुनौतीहरु रहेका छन् । जुन चुनौतीहरुको कारणले गर्दा नेपालमा उद्योग धन्दाको विकास हुन सकिरहेको छैन । 
 
सामान्यतयाः नेपालमा उद्योगधन्दाको विकास हुन नसक्नुको मूल समस्या ५ वटा रहेका छन् । जस्तै, उर्जा, पूर्वाधारको समस्या, स्थानीय निकायको निर्वाचन नहुनु, पूर्वाधारको समस्या र नीतिगत समस्या रहेका छन् । 
 
के छ निजी क्षेत्रको भूमिका ? 
विश्वका कुनैपनि मुलुक नहोला जहाँ निजी क्षेत्रलाई बहिस्कार गरेर राज्यले आर्थिक विकासको परिकल्पना गरेको होस् । नेपालले पनि मुलुकको आर्थिक विकासको लागि निजी क्षेत्रलाई सँगसँगै लिएर हिँड्ने गरेको छ । तर, के गर्‍यो निजी क्षेत्रले ? 
 
केही वर्ष अगाडिसम्म नियमित रुपमा अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई नेपालमा बोलाएर नेपालमा लगानीको सम्भावनाको बारेमा जानकारी दिँदै आएको नेपाल उद्योग वाणिज्य महासंघ सहितको निजी क्षेत्र पछिल्लो समय सुस्त रहेको आरोप लाग्ने गरेको छ । 
 
नेतृत्वले महासंघको शक्ति व्यक्तिगत लाभको लागि प्रयोग गर्ने र महासंघ र मुलुकको हित समेत नसोच्ने गरेकोले पछिल्लो समय महासंघको गरिमा समेत खस्किन लागेको चिन्ता महासंघलाई नजिकबाट नियालेकाहरुले गर्ने गरेका छन् ।  
 
तर, गोल्छा भन्छन् निजी क्षेत्रले पनि आ–आफ्नो ठाउँबाट बैदेशिक लगानीको लागिसक्दो पहल गरिरहेको छ र सरकारले वातावरण तयार पार्ने वित्तिकै यसमा निजी क्षेत्र सक्रियताका साथ काममा लाग्नेछ । 
 
तर, माथि उल्लेख गरिएका विषय उपलब्ध गराउनको लागि सरकारले प्रतिवद्धता जनाउनु पर्‍यो र प्रतिवद्धता मात्रै होईन कि ती सुविधाहरु लगानीकर्तालाई उपलब्ध नै गराउने पर्‍यो । अनि मात्रै विदेशी लगानी नेपाल भित्रिने छ । 
 
नयाँ