arrow

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नत : राष्ट्रपति भण्डारी

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताएकी छन् । 
 
चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि महासचिवका रुपमा पार्टी नेतृत्व सम्हालेका बेला सम्पादन गरेका ७९ विषयका विशेष कामको विवरण समेटिएको सङ्ग्रहणीय ग्रन्थ ‘चिनफिङ : चीनको शासन व्यवस्था’ को आइतबार राष्ट्रपति कार्यालयमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले सन् यात्सेन र माओत्से तुङलगायत नेताले चीनको विकासका साथै नेपालसँगको सम्बन्ध विस्तारमा योगदान गरेको स्मरण गरिन् । 
 
नेपाल र चीनबीचको पारस्परिक मैत्री अतुलनीय रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछिको उद्धार तथा राहतमा चीनबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरिन् । 
 
चीनले पछिल्लो समयमा हासिल गरेको आश्चर्यजनक प्रगतिको प्रशंसा गर्दै उनले समग्र एसियालाई अप्टिकल फाइबरको माध्यमबाट जोडेर अन्तरदेशीय सम्बन्ध र सम्पर्कलाई अझ घनीभूत तुल्याएको बताइन् । 
 
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख तथा राजनीतिक सचिवालयका सदस्य ल्यू छिपाओले विमोचित पुस्तक चीनको शासन व्यवस्था, सामाजिक पद्धति तथा आर्थिक विकास बुझ्न उपयोगी हुने बताए  । 
 
चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षमा नेपाली भाषामा चिनियाँ राष्ट्रपतिका बारेमा पुस्तक प्रकाशन हुनु दुईपक्षीय सम्बन्धको अनुपम उपहारका रुपमा लिएको उनले बताए । 
 
चीन र नेपाल हातमा हात र काँधमा काँध मिलाएर सहकार्य गर्ने मुलुकका रुपमा चित्रण गर्दै नेता ल्यूले भने “नदी र पहाडले जोडेको चीन र नेपालबीचको सम्बन्ध विश्वका लागि उदाहरण बनेको छ । ” 
 
चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष एवम् विमोचन समारोहका सभापति सुन्दरनाथ भट्टराईले नेपाल¬–चीन सम्बन्धका विविध आयामबारे चर्चा गर्दै केन्द्रले आपसी सम्बन्ध अभिवृद्धि गर्न विगत १७ वर्षदेखि गरेका कामबारे जानकारी दिए । 
 
झन्डै तीन वर्षअघि चिनियाँ भाषामा प्रकाशित उक्त पुस्तक नेपाली भाषामा यसैवर्ष अनुदित भई प्रकाशमा आएको हो । एघार भाषामा छापिएको उक्त पुस्तक संसारका एकसयभन्दा बढी मुलुकमा सार्वजनिक भइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ