arrow

‘लोकगायक’ उपाधिबाट रत्न बेहोसी सम्मानित, जनस्तरबाट भव्य सम्मान

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
behosi.jpeg
काठमाडौं । वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यलाई एक समारोहकाबीच लोकगायकको उपाधिबाट सम्मान गरिएको छ । कलाकार परिषदले राजधानीमा आयोजना गरेको ‘रत्न बेहासी सम्मान साँझ’मा उक्त उपाधि प्रदान गरिएको हो । ललितपुरको अग्नि पार्टी प्यालेसमा सम्पन्न उक्त समारोह सम्मानित रत्न बेहोसी र प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई कार्यक्रमस्थल प्रवेशद्वारबाट स्वागत सुरु भएको थियो ।
 
बेहोसीको जीवनसम्बन्धी भिडियो बायोग्राफी प्रदर्शनपश्चात सुरजवीर बज्राचार्य, दबल शाक्य, भूपेन्द्र बज्राचार्य, नील शाक्य, किशोरकुमार शाही, अमर चित्रकार, राजेश महर्जन, नारायणदेवी महर्जन, रीना महर्जन र नारायणबहादुर महर्जन लगायतले लोकगायक बेहोसीका विभिन्न लोकप्रिय गीतहरुको मेडली प्रस्तुत गरेका थिए ।
 
 
६ दशकदेखि कला क्षेत्रका गायन, वादन, रचना, संगीत, अभिनय, नृत्य कलाकार तथा निर्देशन, ख्यालः, दबूप्याखं कलाकार(संगीतकार(निर्देशन, चलचित्र संगीत, भजन सृजना पुस्तक लेखनलगायत विधाहरुमा सक्रिय बेहोसीको कलाकार यात्रा भने बाल्यकालमै शुरु भएको थियो । 
 
कलाले भरिएको पारिवारिक वातावरणमा हुर्केका बेहोसीको जीवनले अनेक उताडचढाव देखेको छ । संगीतले परिवार पाल्न नसकी आयकै लागि सडक पसल चलाउनु पर्ने अवस्थाले पनि विचलित बनाउन नसकेको बहुप्रतिभाशाली लोकगायकको उपाधिले विभूषित कलाकार बेहोसी आफ्नो छोराको निधनको दुःखद घडीमा पनि दागवत्ती दिएपछि फर्केर आफ्नो जिम्मेवारी नाटक मञ्चनमा सक्रिय भएको कलाप्रतिको त्यो समर्पण पनि समाजले भुलेको छैन । 
 
यी ब्यक्तित्वको सम्मानमा वरिष्ठ कलाकार स्वयम्भूराज शाक्यले टोपी अर्पण  गरेका थिए भने कलाकार परिषद तदर्थ समितिका तर्फबाट सञ्जय शर्मा राजोपाध्यायले नेवार परम्परागत शैलीमा माछा, अन्डा सगुन दिएका थिए ।
 
प्रमुख अतिथि श्रेष्ठले बेताली बाँधी, दोसल्ला ओढाइ, फूलमाला लगाएपश्चात सम्मानपत्र हस्तान्तरण गरेका थिए भने कार्यक्रमका संयोजक सुरज ब्यञ्जनकारले आयोजकको तर्फबार २५ हजार रुपैयाँ लोकगायक बेहोसीलाई हस्तान्तरण गरेका थिए ।
 
दर्शकदीर्घाबाटसमेत स्वतस्फूर्तरुपमा सम्मान गर्दै सहयोग हस्तान्तरण गर्नेक्रममा अमला उत्थान संगीत कोषबाट २५ हजार, लूनिभाः स्टेशनरीबाट रामगोपाल महर्जनले १० हजार, फ्रेन्ड सर्कल ब्याडमिन्टन क्लब, सातदोबाटोबाट १० हजार, कविना महर्जनबाट ६ हजार, माइला महर्जनबाट ५ हजार, तीर्थ महर्जनबाट ५ हजार, कृष्णगोविन्द महर्जनबाट ५ हजार रुपैयाँ गरी ९१ हजार रुपैयाँ लोकगायक बेहोसीको लागि सहयोग गरिएको थियो भने मनकामना दर्शन सेवा, ढुंगाअड्डा, कलंकीबाट ३ जनाको लागि बस, खाना, केवलकार सम्मिलित प्याकेज सम्मानित लोकगायक रत्न बेहोसीलाई हस्तान्तरण गरे । सहभागीका लागि १० प्रतिशत छुटको सुविधासमेत उद्घोष गरेका थिए । 
 
सम्मान ग्रहणपश्चात हौसिएका लोकगायक बेहोसीले आफ्नो मन्तव्य राख्दै गीतसमेत गाएका थिए । 
 
कार्यक्रमको दोस्रो भागमा सांस्कृतिक कार्यक्रमको सुरुवात कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको मन्तव्य एवं गीतबाट भएको थियो भने कार्यक्रममा वरिष्ठ कलाकार अमरराज शर्मा, स्वयम्भूराज शाक्य, लोकप्रिय गायक सानुबाबु महर्जन र निशा देसारले गीत प्रस्तुत्रे का थिए ।
 
राजेशमान सिंहको लेखन तथा निर्देशनमा कलाकारहरु कृष्णभक्त महर्जन, सुरज श्रेष्ठ ‘बकंफुस्लु’ र अनिता ताम्रकारले ‘ध्याष्ट्रिक’ ख्यालः प्रस्तुत गरेका थिए  ।
 
 कलाकार महर्जनको निर्देशनमा रोजी महर्जन, ज्योति महर्जन र आरति के।सी।ले नृत्य प्रस्तुत गरेका थिए भने मोहन ब्यञ्जनकारको निर्देशनमा रिता महर्जन, मैंया महर्जन, सजनी महर्जन, दिपु महर्जन, विनिता महर्जन, सपना महर्जनले प्रस्तुत गरेका थिए । 
 
यही नृत्य कलाकारहरुका साथ संयुक्ता शर्मा राजोपाध्याय, सृजना शाक्यसमेतको सहभागितामा अर्को नृत्य संजय शर्मा राजोपाध्यायको निर्देशनमा प्रस्तुत भएको थियो भने आफ्नै निर्देशनमा स्वजन रघुवंशीको साथमा कृपा बज्राचार्यले नृत्य प्रस्तुत गरेका थिए । 
 
नृत्य प्रस्तुतिकै क्रममा आराध्य लक्ष्मी खड्गीले आफ्नै परिकल्पनामा विभिन्न लोकप्रिय गीतहरुमा समायोजन गरी तयार पारिएको नृत्य प्रस्तुत गरेकी थिइन् । 
 
कार्यक्रममा चर्चित संगीतकारहरु ईश्वर जोशी, मिलेश तण्डुकार, मिलन तण्डुकारले विभिन्न लोकप्रिय शास्त्रीय तथा लोकधुन प्रस्तुत गरेका थिए ।
 
सुरजवीर बज्राचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा सहयोगी तथा सहभागी कलाकारहरुलाई सम्मानसमेत गरिएको थियो भने कार्यक्रमको अन्त्य भोजबाट गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ