arrow

आमाबुबाको व्यस्तताले बाल मनोरोग बढ्ने खतरा

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
psycho-baby.jpeg
काठमाडौँ । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । 
 
अझ कामकाजी आमाबुबाले आफ्ना छोराछोरीलाई कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने, बजारको तयारी खाजा बढी खुवाउने विविध कारणले पनि बालबालिकामा गम्भीर असर गरिहरेको चिकित्सकले बताउँदै आएका छन् । 
 
धेरै चकचक, झगडा गर्ने, स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता समस्या आजकलका बच्चामा देखिन थालेको छ । 
 
यस्तो समस्या देखिएमा उनीहरुलाई पिट्ने, हकार्ने वा अन्य सजाय दिनुभन्दा अगाडि अभिभावकले उनीहरुमा कुनै बाल मनोरोगका कारण यस्तो भएको छ छैन भनी सोच्नै पर्ने बताउँछन् कान्ति बाल अस्पतालका बाल मनोरोग विभागका प्रमुख तथा वरिष्ठ बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर । 
 
उनले अभिभावकले बाल मनोविज्ञान बुझ्न नसकेर बालबालिकामाथि नकारात्मक व्यवहार गर्दा त्यसको गम्भीर असर देखिन सक्ने हुँदा सजग हुनुपर्ने बताए । 
 
बच्चाले उमेर अनुसार सोच्ने कुराहरु सोच्न नसक्नु, धेरै रिसाउने, उमेर अनुसार बालबालिकाको मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको बानी व्यवहार देखाउनु बाल मनोरोगको लक्षण हुन सक्छ । 
 
डा कुँवर बालबालिकामा बाल मनोरोगको लक्षण फरकफरक हुने बताउँछन् । उनी भन्छन्, “बालबालिकाले उमेरअनुसार आफ्नो क्षमताले काम गर्न नसक्नु, आवश्यकभन्दा धेरै खुसी हुनु, धेरै रिसाउनु, एउटै कुरालाई पटकपटक दो¥याइरहनुलाई पनि बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ ।” 
 
कान्ति बाल अस्पतालले खासगरी भूकम्पपछि बालबालिका पारेको मानसिक असरबारे परामर्श दिन डेढ वर्षअघि छुट्टै विभागमार्फत सेवा दिन थालेको हो । 
 
अहिले आफ्ना बालबालिकाबारे विभिन्न खाले समस्या लिएर देशभरबाट अभिभावक आउने गरेको कुँवरको भनाइ छ । 
 
गत वर्ष ६०० मात्र बिरामी आएका थिए तर यो वर्ष अहिलेसम्म करिब तीन हजार बढीले उपचार र परामर्श लिएको अस्पतालको तथ्याङ्क छ । 
 
हिजोआज देखिने बाल मनोरोग वंशाणुगत र वातावरणीय दुवैको कारणले हुने गरेको देखिएको चिकित्सकको भनाइ छ । 
 
डा कुँवर भन्छन्, “यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । 
 
अभिभावकलाई डिप्रेसन छ र स्कुलमा पनि बालबालिकालाई बालमैत्री खालको व्यवहार गरिँदैन भने यस्तो समस्या बढेको देखिन्छ ।” 
 
अहिले धेरै बालबालिका अचानक बेहोस हुने समस्या पनि बढी देखिएको छ । यो बढी तनावका कारणले हुन्छ । 
 
अभिभावकको व्यस्तताको कारण उनीहरुकै समयतालिका अनुसार सबै आफ्ना गतिविधि गर्नुपर्दा बालबालिकामा बढी तनाव थपिएकाले यसतर्फ ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् । 
 
बालबालिकालाई खुसी पार्न लामो समयसम्म टेलिभिजन, मोबाइल हेर्न दिँदा पनि त्यसले बालबालिकामा एकोहोरो हुने, रचनात्मक क्षमतामा ह्रास ल्याउने भएकाले उनीहरुलाई रचनात्मक खेल जस्तो लुँडो, क्यारामबोर्डजस्ता खेलमा प्रेरित गर्दा मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने डा कुँवरको सल्लाह छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ