arrow

इङ्गल्याण्डले पाँच खेलको टेष्ट श्रृंखला भारतलाई सुम्पियो

‘करियरकै किफायती बलिङ गरेका जडेजाले अंग्रेजहरुलाई चित ख्वाए’

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
bharat-win-aa.jpeg

एजेन्सी । रविन्द्र जडेजाले टेष्ट करियरकै किफायती बलिङ गर्दै ७ विकेट चट्काएपछि भारतले पाँचौ तथा अन्तिम टेष्ट इनिङ र ७५ रनले जित्दै श्रृंखला नै कब्जा गरेको छ । इङ्गल्याण्डविरुद्धको पाँच खेलको टेष्ट श्रृंखला भारतले समग्रमा ४–० ले जितेको हो ।

श्रृंखलाको अन्तिम टेष्टमा जडेजाले १० विकेट लिए । पहिलो इनिङमा १ सय ६ रन खर्चेर ९ मेडन राखि ३ विकेट लिएका जडेजाले दोस्रो इनिङमा जम्मा ४८ रन खर्चेर ५ मेडन राख्दै ७ विकेट चट्काए । पहिलो इनिङमा ४ सय ७७ रन बनाएको इङ्गल्याण्ड दोस्रो इनिङमा जडेजा बलिङको सिकार हुँदै जम्मा २ सय ७ रनमै अलआउट भयो ।

यस्तै, करुण नायरले तेहेरो शतक बनाएको पहिलो इनिङमा भारतले ७ सय ५९ रनको विशाल योगफल बनायो । भारतका ओपनर लोकेश राहुल दोहोरो शतक बनाउन मात्र एक रनले चुके ।

पाँचौ विकेटका लागि नायरले सर्वाधिक ३ सय ३ रन बनाएपछि कप्तान विराट कोहली चित खाए । जम्मा १५ रन मात्रै बनाएका कोहली स्टुआर्ट ब्रोडको धरापमा परे ।   पहिलो इनिङमा ४ सय ७७ रन बनाएको इङ्गल्याण्डलाई इनिङ अन्तरको हार टार्न दोस्रो इनिङमा २८२ रन आवश्यक थियो ।

यद्यपि, १२ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको इङ्गल्याण्डले एक समय १९२ रन बनाउँदा ४ विकेट मात्र गुमाएको थियो । पछि जम्मा १५ रन मात्रै थप्दा बाँकी ६ विकेट पतन भयो । इङ्गल्याण्डका लागि केएटन जेनिङ्सले ५४ जम्मा गरे । यस्तै, कप्तान एलेस्टर कुक ४९, मोइन अली ४४ तथा बेन स्टोकले २३ रन जम्मा गर्न सके ।

करियरको तेस्रो टेष्टमै तेहेरो शतक प्रहार गरेका नायर ‘म्यान अफ दि म्याच’ घोषित भए । भारतीय कप्तान विराट कोहली ‘म्यान अफ दि सिरिज’बने । यी दुईबीचको पहिलो टेष्ट बराबरीमा सकिएको थियो । भारतले दोस्रो टेष्ट २४६, तेस्रो ८ विकेट तथा चौथो टेष्ट इनिङ र ३६ रनले जितेको थियो ।

Image may contain: 1 person



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ