arrow

बजेट फ्रिज हुन नदिन जिबिसको पहल

पुस नलाग्दै योजना सम्झौता गर्नेको भिड

logo
साधना शाही,
प्रकाशित २०७३ पुष ६ बुधबार
yojasna-in-kalikot.jpeg
 कालीकोट । कुमालगाउँ–५ का जगदिश उपाध्यायले जिल्ला प्राविधिक कार्यालय कालीकोटमा दुई दिन पुरै धाए पछि मात्र खानेपानी मर्मतको योजना सम्झौता गर्न भ्याएका छन् । जिल्ला बिकास समिति अन्तर्गतको बजेटमा गाउँको खानेपानी मर्मत कार्य योजनामा परे पछि उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न जिबिस कार्यालय पुगेका उपाध्यायलाई दुई दिन पछि सम्झौता गर्ने साइत जुरेको हो । 
 
अघिल्ला बर्षहरुमा बैशाख जेठतिर मात्र योजना सम्झौताका लागि तात्ने उपभोक्ता समितिहरु भने यो बर्ष पुसको सुरुवातमा नै जिबिसमा धाउन थालेका छन् । ‘बैशाखसम्म योजना सम्झौता होला भन्नेमै थियौ’ खानेपानी उपभोक्ता समिती कुमालगाउँका अध्यक्ष जयमणी भट्टराईले भने, ‘सधै झै जेठ बैशाख काम होला भनेको त यो बर्ष छिट्टै भए समयमै काम सकिनेमा आशा लागेको छ ।’ 
 
सधै जसो जिल्ला परिषद् सकिए पछि योजना सम्झौता गर्ने जिल्ला बिकास समिति कालीकोटले चालु आर्थिक बर्षको पुस मसान्तसम्म छनौट भएका योजना सम्झौता गरिसक्नु पर्ने निर्णय गरेपछि मंसिर पुसमा सुनसान जस्तै देखिने जिल्ला बिकास समितिमा उपभोक्ताको भिड बाक्लिएको छ भने जिबिसका कर्मचारीहरुलाई पनि भ्याइ नभ्याइ हुने गरेको छ ।  
 
हरेक बर्ष फागुनमा जिल्ला परिषद् गर्ने जिल्ला बिकास समितिले योजनाको कार्य सञ्चालनको लागि पनि परिषद् नै कुर्ने गरेको छ । अर्को परिषद् नभइ योजना सम्झौता हुँदैन भन्ने ठानेका उपभोक्ता समितिीहरु पनि गाउँको कामका लागि जुर्मुराएका छन् । जिल्लाका अधिकांश बिकास आयोजनाहरुमा ‘असारे बिकास’ को चर्चा हुन नदिन यो बर्ष सबै योजनाहरु समयमै सम्पन्न गरी बजेट फ्रिज हुन नदिने गरी काम थालिएको स्थानीय बिकास अधिकारी प्रदीपराज अधिकारीले बताए । 
 
परम्परागत काम गर्ने शैलीले कालीकोटको बिकास बजेट खर्च हुन नसकेको भन्दै स्थानीय बिकास अधिकारीले भने, ‘चैत्र मसान्तसम्म सबै योजनाको बजेट खर्च गर्न सके थप बजेट विनियोजन गर्ने आश्वासन मन्त्रालयबाट पाएकोले सो अनुसार नै काम गरिरहेको छु ।’ परिषद् पछि मात्र योजनाको काम शुरु गर्दा केही समय उपभोक्ता समिती गठनमै बित्ने र सहमती नभए उपभोक्ता समितिमा विवाद सिर्जना भई सम्झौता नै ढिला हुँदा बिकास कार्य अवरोध भएको स्मरण गर्दै यो बर्ष त्यसो हुन नदिन योजना सम्झौता शुरु गरिएको उनको भनाई छ । 
 
जिल्लामा सञ्चालित विभिन्न आयोजना अन्तर्गतका बिकास निर्माणका कार्यहरु भइ सकेको स्थानीय बिकास अधिकारीले बताए । कालीकोटका लागि सबै भन्दा महत्वपूर्ण मानिएको कणाली रोजगार कार्यक्रममा यो बर्ष ३७ वटा योजनाका लागि करिब ११ करोड बजेट स्वीकृती भइ आइसकेकोले कामदारको छनौट प्रक्रियाका लागि जिबिसको टोली गाउँमा पठाइ सकिएको बताइएको छ ।
 
साना सिँचाइ परियोजना अन्तर्गत कालीकोटका तीस वटै गाउँ बिकास समितिबाट कम्तीमा दुई - दुई वटा योजना छनौट भइ स्वीकृतीका लागि मन्त्रालयमा पठाइसकिएको, ३ करोड रुपैयाँ बजेटको निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रम र १ करोड रुपैयाँको निर्वाचन क्षेत्र बिकास कार्यक्रमका लागि योजना छनौट गरी सम्झौता गर्न सम्बन्धित गाउँ बिकास समितिलाइ पत्राचार गरिसकिएको, संस्कृती पर्यटन पूर्वाधारतर्फ ९० लाख बराबरका ५० योजना सञ्चालनका लागि प्रक्रिया शुरु गरिए र १० वटा योजनाको सम्झौता समेत सम्पन्न गरी काम थालिएको उनले बताए । 
 
योजना सम्झौता गर्दा उपभोक्ता समितिमै विवाद गर्ने र जेठ मसान्तमा आएर योजना सम्झौता गर्ने हुनाले जिल्लाका धेरै जसो विकास योजनाहरु सम्पन्न नहुदै बजेट फ्रिज जान थालेपछि पुस मसान्तसम्म सम्झौता गरी सक्न सूचना गरेको हो । जिल्ला बिकास समितिले थालेको यो कार्यले कालीकोटका उपभोक्तामा केही बिकासको आशाको सञ्चार भएको उपभोक्ताहरुले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ