arrow

भूकम्पपीडितको पीडाप्रति संवेदनशील नबने इन्जिनियरहरुलाई कारबाही गर्ने चेतावनी

सेवा सुविधाको कुरा अघि बढीसकेको जानकारी

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
NRA.jpg.jpeg
काठमाडौं । भूकम्पपीडितहरुको पीडाप्रति सम्बेदनशील बन्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले आन्दोलनरत इन्जिनियरहरुलाई आग्रह गरेको छ । प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालले बुधबार एक विज्ञप्ती जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनर्निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउन खटिएका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएको भन्ने विभिन्न सञ्चार माध्यमबाट आएका समाचारका सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको पनि जनाईएको छ । 
 
प्राधिकरणले २०७३ साल कार्तिक १० गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकबाट ‘पुनर्निर्माण कार्यमा विभिन्न गाविस एवं नगरपालिकाहरुमा खटिएका जनशक्तिलाई नतिजाप्रति उत्साहित बनाउन नीजहरुको कार्य सम्पादन नतिजा समेतका आधारमा बढीमा ७५ प्रतिशत सम्मको कार्य सम्पादन प्रोत्साहन भत्ता उपलब्ध गराउने र सो सम्बन्धी मापदण्ड प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं अर्थ मन्त्रालयसँगको समन्वयमा निर्धारण गर्ने व्यवस्था मिलाउने निर्णय’  भइसकेको जनाएको छ । 
 
उक्त निर्णयको कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अर्थ मन्त्रालयकाबीच छलफल भई आवश्यक कार्य सम्पादन मापदण्ड तयारी सहित प्रकृया अघि बढिसकेको जनाएको छ । यस विषयमा आजै नेपाल इन्जिनियर्स एशोसियसनसँग समेत छलफल भई जानकारी गराइएको छ । 
 
भूकम्प पीडित जनताले सरकारले उपलब्ध गराउने पहिलो किस्ता रकम प्राप्त गरी निजी घर पुनर्निर्माण गर्ने क्रम द्रुत गतिमा अघि बढिरहेको र सुविधा सम्बन्धी निर्णय कार्यान्वयन प्रक्रियामा गइसकेको स्थितिमा सुविधाको माग राखी आन्दोलन गर्नु कुनै पनि कोणबाट जायज नहुने तर्क प्राधिकरणको छ । 
 
अतः पुनर्निर्माणको कार्यलाई अघि बढाउन जिम्मेवारीपूर्वक आ–आफ्नो कार्य क्षेत्रमा फर्किएर जिल्लास्थित सहरी विकास मन्त्रालय अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईसँग समन्वय गरी भूकम्प पीडित जनताको मर्म र भावना बुझी आफूलाई तोकिएको जिम्मेवारी अनुरुप काम गर्न सम्बन्धित सबै इन्जिनियरहरुलाई निर्देशित गरेको छ । 
साथै, सेवा सुविधा दिने गरी सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा भूकम्पबाट मर्माहत भएका भूकम्प पीडित जनताको संवेदनामाथि खेल्दै पुनर्निर्माणमा अवरोध सिर्जना गरिरहे कानून अनुसार कारवाही हुने चेतावनी प्रांधिकरणले दिएको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ