arrow

हिमाल र तराईका 'मन' सदभावको डोरीमा उन्दै ‘धुर्मुस–सुन्तली’

तेस्रो मुसहर बस्ती निर्माणमा कस्सिए : ‘धुर्मुस–सुन्तली’

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
dhurmuss.jpeg
काठमाडौं । कहिले हिमालीको चिसो वातावरणमा मनै चङ्गा बनाउन तातो प्रस्तुती दिने त कहिले तराईको गर्मी विर्साउन सितल प्रस्तुती दिएर मनै फुरुङ्ग गराउने धुर्मुस सुन्तलीले तेस्रो बस्ती निर्माणको अभियान सुरु गरेका छन् । विभिन्न हास्य प्रस्तुतीहरुबाट नेपाली समुदायमा भिजेको यो जोडी अहिले ‘नमूनाबस्ती निर्माण अभियान’बाट चर्चाको शिखरमा छ । 
 
हास्यप्रस्तुति क्षणिक समयको निम्ति त पीडा भुलाउने साधन बन्ला तर प्रस्तुति सकिएपछिको लागि दुईछाक टार्न नै मुस्किल भएकाहरुको लागि अर्थहीन बन्नसक्छ भन्ने बुझेको यो जोडीले मनको पीडा भुलाउनको लागि ‘धुर्मुस सुन्तली फउण्डेसन’मार्फत् नमूना बस्ती अभियान सञ्चालन गरिरहेको छ । जुन अभियानले एकातिर पीडितको मन भुलाएको छ भने अर्कातर्फ सरकारलाई समेत एउटा पाठ सिकाएको छ । 
नेपालमा विनाशकारी भूकम्प भएको डेढ वर्ष वितिसकेको छ । सरकार अझैपनि पुनर्निर्माणको काममा ‘कुहिरोमा हराएको काग’ जस्तै बनेको छ । तर, सरकारलाई चुनौती दिनेगरी र सरकारी ढिलासुस्तीलाई गिज्याउने गरी आफ्नै पहलमा धुर्मुस सुन्तलीले गरेको गिरानचोक र काभ्रेको पहरी समुदायको भूकम्पपीडित बस्ती निर्माणले यो जोडीलाई चर्चाको शिखरमा झनै माथि पुयाईदिएको छ । 
 
बुधबार हाम्राकुरा डटकमसँग कुराकानी गर्दै हास्यकलाकार समेत रहेका फाउण्डेसनका अध्यक्ष सिताराम कट्टलले भने ‘म हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएको, तराईको जिल्ला झापाको गौराहदहमा हुर्किएको र पहाडको जिल्ला काठमाडौंमा कार्यक्षेत्र बनाएर काम गरेको व्यक्ति हुँ । म जसरी भौगोलिक रूपमा नेपालको तीनवटै क्षेत्रसँग जोडिएको छु त्यसैगरी हामी तीनवटै क्षेत्रका मानिसहरूलाई एकआपसमा क्षेत्रीयताको परिधिबाट माथि उठाउँदै मानवताको सूत्रमा बाँध्न चाहन्छौ ।’
Image result for काभ्रेको पहरी बस्ती
पहिलो कदम – काभ्रेको पहरी बस्ती  
पहिलो पटक भूकम्प जाने वित्तिकै काभ्रेको पहरी बस्तीमा २० वटा घर बनाएर आफ्नो अभियान सुरू गरेको फउण्डेसनले आफ्नो पहिलो बस्ती साढे दुई महिनामा नै हस्तान्तरण गरिसकेको थियो । विश्व्बजारमा उदाउँदो सामाजिक सञ्जालको रुपमा रहेको सगुन डटकम लगायतको सहकार्यमा बनेको उत्तः बस्तीबाट नै फाउण्डेसनले एक हिसावले चर्चा र जनविश्वास कमाउन थालिसकेको थियो । 
Image result for गिरानचौरमा एकीकृत नमुना बस्ती
दोस्रो बस्ती गिराजनचोक
फाउण्डेसनले आफ्नो दोस्रो बस्तीको रुपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गरेको थियो । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती गत कात्तिक १२ गते आयोजित एक समारोहबीच  व्यवस्थापन समितिका प्रमुख रामबहादुर तामाङलाई हस्तान्तरण गरेकी थिईन् ।
 
नमुना बस्ती पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ को लागतमा निर्माण भएको थियो । ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको र बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट छ करोड १७ लाख रकम संकलन भएको थियो ।
 
अबको यात्रा मुसहर बस्तीतिर 
भूकम्पपीडितको पीडामा मल्हम लगाएका अब भने फाउण्डेशन तराईको विकट बस्ती तिर झरेको छ । दाउरा बेचेर जिविको पार्जन गर्दै आई्रहेका मुसहर बस्तीमा कूल ५० वटा एकीकृत नमुनाबस्ती बनाउने लक्ष्यसहित अभियान महोत्तरी तिर झरेको कट्टेलले जानकारी दिए । 
 
शितलहरबाट पिल्सीएका मुसहरको दर्दनाक अवस्था देखेका उनीहरुले गएको वर्ष न्यानो कपडा वितरण समेत गरेका थिए । भूकम्प पिडितलाई पहिलो प्राथमिकतामा राख्दै एकिकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । गाँस, बास र कपासको समेत समस्या रहेको मुसहर बस्तीमा आफुहरु पुगेपछि अहिले निकै परिर्वतन देखा परिसकेकाले ५० परिवार मुसहरलाई उपहारस्वरुप घर प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । 
सहयोगको अपिल 
मुसहर बस्तीमा ५० घरको नमुना बस्ती निर्माण गर्नको लागि ४ करोड ७८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको धुर्मुसले बताए । उनले यसको लागि इच्छुक व्यक्तिहरूले सहयोग गर्नसक्ने भन्दै नमुना बस्तीको निर्माण गरी सबै नेपालीलाई सद्भाव र एकताको सूत्रमा बाध्नको लागि सबैपक्षले हातमा हात मिलाउनको लागि पनि कट्टेलले अपिल गरेका छन् । सबैको सहयोगले अहिलेसम्म दुईवटा बस्ती निर्माण भईसकेको बताउँदै फाउण्डेसनको काममा अझैपनि सबैको साथ र सहयोगको अपेक्षा आफूले राखेको कट्टेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ