arrow

बैतडीमा स्वास्थ्य बीमा सुरु

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
health.jpeg
बैतडी । बैतडीमा पहिलोपटक बिहिबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बीमाको दर्ता प्रक्रिया बिहीबारदेखि सुरु हुने जानकारी दिएको हो । 
 
पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । 
 
देशका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उनले बताए । 
 
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले रु दुई हजार पाँचसय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार उपचार निःशुल्क रुपमा प्राप्त गर्ने निर्देशक लोहनीले जानकारी दिए । 
 
यस्तै, पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा रु चारसय २५ का दरले थप शुल्क तिर्नुपर्ने उनले बताए । 
 
बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको र उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ । 
 
पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ