arrow

जलउत्पन्न प्रकोप व्यवस्थापन गर्न छ करोड

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
landslide-3.gif.gif
रत्ननगर (चितवन) । बाढी र पहिरो प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन गर्न नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन)मार्फत ६ करोडको परियोजना सुरु भएको छ । 
 
विपद् व्यवस्थापनअन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थापन परियोजना सुरु भएको हो । जिल्लाको दक्षिण माडी नगरपालिका र पूर्व लोथर गाविसमा कार्यक्रम सुरु भएको परियोजनाका जिल्ला संयोजक रवीन्द्र सिंहले जानकारी दिए । 
 
परियोजनाअन्तर्गत माडी नगरपालिकामा स्पर, तटबन्धन, वृक्षरोपण गर्ने र लोथरमा पहिरो प्रभावित क्षेत्रमा सुरक्षा पर्खाल निर्माणलगायत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै समुदायमा आधारित विपद् व्यवस्थापन समितिको सशक्तीकरणलगायत भौतिक संरचना निर्माण, विद्यालयस्तरीय विपद् जोखिम न्यूनीकरण, स्थानीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, भूकम्प प्रतिरोधी भवन आचारसंहितासम्बन्धी जानकारी दिइने लक्ष्य रहेको जनाइएको छ । 
 
जिल्लाका पहाडी आठ गाविस र दक्षिण माडी जल उत्पन्न प्रकोपका दृष्टिले उच्च जोखिममा छ । माडीमा बर्सेनि बाढीका कारण धनजनको क्षति हुँदै आएको छ । पहाडी गाविसमा पहिरो र बाढीले मानिस जोखिममा छन् । 
 
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भट्टले चितवन जल उत्पन्न प्रकोपका हिसाबले उच्च जोखिममा रहेकाले सो परियोजना समयसापेक्ष रहेको बताए । काम गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको गाइड लाइनअनुसार गर्न सुझाव दिँदै उनले यससँग सम्बन्धित अन्य सङ्घसंस्थासँग समन्वय गरेमा अझै प्रभावकारी हुने बताए  । 
 
स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न आएको संस्थाको कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसलाई पारदर्शी रुपमा सञ्चालन गर्न आग्रह गरे। आरआरएनका कार्यकारी निर्देशक ज्ञानबहादुर अधिकारीले सरकारी निकायसँगको समन्वय र सहकार्यमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ