arrow

पृथ्वी जयन्ती मनाउने घोषणाले एनआरएनए–अमेरिका विवादमा तानियो

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
Press-Meet.jpeg

अमेरिका – पृथ्वी जयन्ती मनाउने विषयले गैर आवासीय नेपाली संघ–अमेरिका विवादमा तानिएको छ । आगामी सन् २०१७ देखि संयुक्त राज्य अमेरिकामा पृथ्वी जयन्ती संस्थागत ढंगले दिवसको रुपमा नै मनाउने घोषणा गरेपछि एनआरएनए–अमेरिका विवादमा तानिएको हो ।

यसैबीच अमेरिकास्थित विभिन्न संघसंस्थाले बुधबार (२१ डिसेम्बर) संयुक्त रुपमा पत्रकार सम्मेलन गरी एनआरएनए–अमेरिकाको उक्त निर्णयको भ्रत्र्सना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), नेपाली संघीय समाज अमेरिका, संघीय लिम्बुवान मञ्च अमेरिका, मधेशी अराउण्ड दि वल्र्ड, सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपाललगायत संघसंस्थाले संयुक्त पत्रकारसम्मेलन गरी उक्त विवादास्पद कार्यक्रम आयोजना गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गणतान्त्रिक राज्यमा परिणत भइसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारलेसमेत पृथ्वी जयन्तीलाई कुनै किसिमको दिवसको रुपमा नमनाउने घोषणा गरिसकेको उल्लेख गर्दै एनआरएनए–अमेरिकाको वर्तमान नेतृत्वले यस्तो विवादस्पद निर्णय गरेर एनआरएनएको मूल्य र मान्यतामाथि कुठराघात गरेको उनीहरुको आरोप छ ।

‘गणतन्त्र नेपाल राज्यको विरुद्ध नै अभियान संचालन गर्न दुस्साहस गर्न खोजेको निस्कर्ष हाम्रो रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘एनआरएन जस्तो गैरराजनीतिक संस्थाले यस्तो राजनीतिक मुद्दालाई एकतर्फीरुपमा प्रस्तुत गरेकोमा एनआरएन, एनसिसि, युएसएको वर्तमान नेतृत्वको घोर निन्दा गर्दै यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न आव्हान गर्दछौँ ।’

एनआरएनएको विधानको प्रस्तावनामा नै यस संस्थालाई ‘स्वतन्त्र, गैरनाफामुलक, गैैरराजनीतिक, गैैैरसरकारी स्थायी संस्था’ हो भनेर स्पष्ट उल्लेख गरिएको हुँदा–हँुदै पनि एनआरएन, युएसएको वर्तमान नेतृत्व निजी स्वार्थबाट अभिप्रेरित भई सिंगो अमेरिकी डायस्पोराको दृष्टिमा एनआरएनएको प्रतिष्ठालाई धज्जी उडाउने कुचेष्टा वर्तमान नेतृत्वले दुस्साहस गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए–अमेरिकाकोे वर्तमान नेतृत्वले राजनीतिक विषयलाई अंगीकार गरेर अमेरिकी नेपालीहरुमाझ यस संस्थाप्रतिको साझा विश्वासमा गम्भीर आँच पु¥याएको हुँदा वर्तमान नेतृत्वलाई विधान बमोजिम कारवाही गर्नसमेत एनआरएनएको अन्र्तराष्ट्रिय अध्यक्षलाई अमेरिकी नेपाली डायस्पोराको तर्फबाट अनुरोध गरिएको छ ।

अमेरिकी नेपालीहरुको एकतालाई विभाजनतर्फ उन्मुख गराउन खोजेको आरोप लगाउँदै पृथ्वी जयन्ती जस्तो विवादस्पद कार्यक्रम तुरन्तै फिर्ता लिई वर्तमान नेतृत्वले आम नेपाली डायस्पोरासमक्ष माफी माग्न माग गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ