arrow

संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहको निर्वाचन : सभापति देउवा

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
congress-udhghatan.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव पारित गराई तीनै तहका निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन् । 
 
काँग्रेसका जिल्ला कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधान कार्यान्वयनका लागि आगामी २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय तहका निर्वाचन गर्नु अपरिहार्य भएको बताए । 
 
काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीको उपलक्ष्यमा शुक्रबार आयोजित उक्त सम्मेलनमा काँग्रेस सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिका साथ संविधानले निर्धारण गरेको अवधिभित्र तीनै तहका निर्वाचन गर्न सकिएमात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए  । 
 
आफैँले प्रस्ताव गरेको प्रदेश सीमाङ्कन प्रस्तावको विरुद्धमा नेकपा (एमाले) लागेको आरोप लगाउँदै देउवाले भने – “कति दिनसम्म संसद् चल्न नदिने ?, के उहाँहरुको जिम्मेवारी छैन् ?, मुलुकलाई निकास दिन संसद् खोल्नैपर्छ ।” 
 
काँग्रेस सभापति देउवाले मुलुकको हालसम्मका ठूला परिवर्तन काँग्रेसकै नेतृत्वमा सफल भएको बताउँदै संविधान कार्यान्वयनमा पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास दिलाए । 
 
कार्यक्रममा पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकका गम्भीर विषयमा दलहरुबीच अविश्वास बढेका कारण वर्तमान गतिरोध उत्पन्न भएको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बेला सबै दल सहमतिमा आउनुको विकल्प नभएको धारणा व्यक्त गरे। 
 
वरिष्ठ नेता पौडेलले भने , “प्रदेश सीमाङ्कन सम्बन्धमा तराईका जनतामाथि अविश्वास गरे देशका लागि घातक हुन्छ ।” पार्टीभित्र गुटउपगुट बढेकोमा चिन्ता व्यक्त गर्दै वरिष्ठ नेता पौडेलले भने , “लटपट्याएर पार्टी कब्जा गर्ने अवस्थामा एकताको कुरा गरेर मात्र केही हुदैँन् ।” 
 
महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान राजनीतिक गाँठो फुकाउन ठूलो दलको हैसियतले काँग्रेसको नेतृत्वमा सबै दल मिलेर गहन छलफल गर्नुपर्ने बताए  । संविधान संशोधनका सम्बन्धमा ५– नम्बर प्रदेशका जनताको भावना पनि समेट्नुपर्ने उनको धारणा थियो । 
 
पार्टीका कोषाध्यक्ष एवम् शान्ति तथा पुननिर्माणमन्त्री सीतादेवी यादवले पार्टीका सबै तहका कोषाध्यक्षलाई कोष सङ्कलन, पारदर्शी रुपमा खर्च र दुरुस्त हिसाबकिताब राख्नु महत्वपूर्ण जिम्मेवारी भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । 
 
पूर्व महामन्त्री प्रकाशमान सिंहले काँग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको बताउँदै अब काँग्रेसको ध्यान तिनै तहका निर्वाचन गरी संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । 
 
अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलहरुबीच राष्ट्रिय एकता र मेलमिलापको खाँचो रहेको औलाए । 
 
सहरी विकासमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा विवेक भन्दा वार्गेनिङका आधारमा निर्णय हुने गरेको गुनासो गर्दै भने , “म पनि छुट्टै गुट बनाउ की भन्ने सोच्दैछु ।” 
 
कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, काठमाडौँ काँग्रेसका सभापति कृष्णसबुज बाँनिया, कोषाध्यक्ष गोविन्द पुडासैनी, धादिङ काँग्रेसका कोषाध्यक्ष बाबुकृष्ण सापकोटा र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले पार्टी संस्थागत रुपमा सञ्चालन गर्न तथा पार्टी सुदृढिकरणका लागि बुथस्तरसम्मका कोषाध्यक्षलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । 
 
दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा लेबी व्यवस्थालाई व्यवस्थित बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल हुने बताइएको छ । 
 
सम्मेलनमा राजनीतिक दलले आर्थिक व्यवस्थापनका लागि गरिने चन्दा अभियान भय र त्रासबाट मुक्त गर्ने उपाय, पारदर्शीताका लागि आयव्ययको सार्वजनिकिरण गर्ने व्यवस्था तथा विश्वस्तरबाट राष्ट्रियस्तरका पार्टीलाई आर्थिक सहयोगको व्यवस्थाका लागि राज्यस्तरबाट पहल गर्ने विषयमा समेत छलफल हुने कार्यक्रम रहेको संयोजक गोविन्द पुडासैनीले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ