arrow

शक्ति बाँडफाँड गोप्य रहेको १४ बुँदेमा के छ ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1995362357.jpeg

काठमाडौं । नयाँ सरकार गठनबारे एमाले र एमाओवादीबीच १४ बुँदे सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा तराई–मधेसमा आन्दोलनरत दलहरु, थारु समुदाय र विभिन्न रुपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायत अन्य उत्पीडित समुदायसँगको प्रतिवद्धता र समस्या वार्तामार्फत किनारा लगाउने उल्लेख छ ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, देशको हित र स्वाभीमानको पक्षमा दृढ रहने र नेपाली जनतामा निहित सार्वभौमसत्ता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्दै बाह्य दबाब र हस्तक्षेप अस्वीकार गर्ने, संविधानले संस्थागत गरेको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै प्रभावकारी कार्यान्वयन गर्ने सहमति दुई पार्टीबीच भएको छ ।

नेपालको संविधानमा अधिक दल एवं पक्षको समर्थन जुटाई राष्ट्रिय एकता सुदृढ गर्दै संविधान कार्यान्वयनका लागि सहज वातावरण निर्माण गर्ने र त्यसका लागि वार्ता एवं सहमतिकै मार्गबाट संविधानमा आवश्यकताअनुरुप संशोधन गर्ने सहमतिपत्रमा भनिएको छ ।

दुई दलबीच भएको सहमतिमा भूकम्पले उत्पन्न राष्ट्रिय विपद् तथा राष्ट्र र जनताको आवश्यकताप्रति संवेदनशील भई पुनःनिर्माण र नवनिर्माणको काम योजनाबद्ध रुपमा अघि बढाउने, मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रलगायत उत्पीडित वर्ग एवं जनसमुदायका समस्याप्रति गम्भीर भई सम्बोधन गर्दै जाने प्रतिवद्धता जनाइएको छ । नयाँ संविधानले संस्थागत गरेको सामाजिक न्यायसहितको समावेशी लोकतन्त्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सहमति भएको छ ।


दुवै दल जनमतकै बलमा जारी संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गरी शान्तिपूर्ण रुपमा प्रकट गरिने माग र भावनाको कदर गर्ने र राज्यद्वारा शान्तिपूर्ण आन्दोलन माथि अनावश्यक बल प्रयोग नगर्नेमा एक मत देखिएका छन् ।

सक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगका काम कारबाही विस्तृत शान्ति सम्झौताको मूल मर्म र भावनाअनुसार सम्पन्न गर्न प्रतिबद्ध रहने र त्यसअनुरुप वातावरण निर्माण गरी कार्यान्वयनमा लैजाने दुई दलको सहमति उल्लेख छ ।

नेपालले सामना गर्नु परिरहेको नाकाबन्दी र यसको परिणामलाई ध्यान दिई तत्कालिक र दीर्घकालीन रुपमा अत्यावश्यक वस्तुको आपूर्ति गर्न र राष्ट्रलाई आत्मनिर्भर बनाउन योजनाबद्ध नीति र कार्यक्रम तर्जुमा गर्ने सहमति जुटेको छ । दुईपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अभिसन्धिअनुरुप नेपालले प्राप्त गर्ने पारवहन तथा व्यापार वाणिज्य अधिकार सुनिश्चित गर्दै तिनको पूर्ण र सहज उपभोगको दिशामा क्रियाशील रहने, नेपालको जनताबाट निर्वाचित सार्वभौम संविधानासभा र नेपालका राजनीतिक दलले गरेका संविधान जारी गर्नेलगायतका निर्णयको सम्मान गर्न दुबै दल एक भएका छन् ।

तत्कालिन नाकाबन्दीको अन्त्य गरी भूपरिवेष्टित राष्ट्रले अन्तर्राष्ट्रिय कानुनबमोजिम उपभोग गर्न पाउने पारवहन अधिकार निर्वाध रुपमा उपयोग गर्ने स्थिति सुनिश्चित गर्न र दुई छिमेकी मित्र राष्ट्रबीचको सम्बन्धलाई सहज बनाउन मित्रराष्ट्रसँग आग्रह गर्ने सहमतिमा समावेश गरिएको छ ।

यस्तै सहमतिको अन्तिम बुँदामा छिमेकीलगायत सबै मित्रराष्ट्रसँग संयुक्त राष्ट्र संघको बडापत्र र पञ्चशीलका मान्यताअनुरुप पारस्परिक सम्मान, समानता र हितका आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उल्लेख गरिएको छ । सहमतिमा विभिन्न राजनीतिक विषय समावेश गरिएको भए पनि शक्ति बाँडफाँड एवं पावर सेयरिङ्गको विषय राखिएको छैन । पावर सेयरिङ्ग दुवैले गोप्य राखेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ