arrow

देउवा–ओली जुहारी

देउवाले भने, 'ओलीजीसँग झगडा परिरहेको छ, त्यसमा पनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला'

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
Oli-&-deuba.jpg.jpeg
काठमाडौं ।  कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनको विषयलाई लिएर शुक्रबार एक कार्यक्रममा जुहारी चल्यो । देउवाले आफैंले हस्ताक्षर गरेको साझा दस्ताबेजको आधारमा ल्याइएको संशोधन प्रस्तावलाई स्वीकार्न ओलीलाई आग्रह गरे । देउवाभन्दा अघि बोलेका ओलीले सरकारले ल्याएको संघीय प्रदेशको सीमांकन परिवर्तन गर्ने प्रस्ताव राष्ट्र हितमा नरहेको तर्क गर्दै त्यसलाई नमान्ने अडानमा कायमै देखिए । 
 
 
सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीका अवसरमा बाँडेगाउँ आश्रममा आयोजित कार्यक्रममा देउवा र ओली दुवै विशेष अतिथि थिए । औपचारिक मन्तव्यपछि संसदको गतिरोध फुकाउने दिशामा उनीहरूबीच संक्षिप्त अनौपचारिक कुराकानी पनि भयो । अनौपचारिक कुराकानीमा दुवै सकारात्मक जस्ता देखिए पनि औपचारिक भाषणमा भने दुवैले एकअर्कालाई आक्षेप लगाउन थाले । ढिलो गरी कार्यक्रममा पुगेका देउवाले सुरुमै ओलीसंँग झगडा परेका बेला ढिलो आइयो भन्दै क्षमा मागे । ओलीले बोलेर सकेपछि मात्रै देउवा कार्यक्रममा पुगेका थिए । ‘त्यसै त ओलीजीसँग झगडा परिरहेको छ, त्यसमा पनि धेरै पर्खाएँ, रिसाउनुभयो कि माफ दिनुहोला,’ मन्तव्यको सुरुमै देउवाले भने, ‘संविधान संशोधन विधेयक ओलीजीले संसदमा लैजानै दिनुभएको छैन, मधेसी जनताको भावना बुझ्न ओलीजीलाई आग्रह गर्छु ।’
 
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले ‘आइकन’ देख्न थालेको भन्दै व्यंग्य गरे । उनले भने, ‘सरकारले ल्याएको संशोधनको प्रस्ताव नेपाली जनताको हितमा भएको भए मैले र मेरो पार्टीले यसलाई शिरोपर गर्थ्यो, तर म अरूको हितको कबुल गर्दिनँ, बाहिरको हितहरूको कबुल एमालेले बोक्न चाहन्न ।’ ओलीको भाषण सुन्न नभ्याएका देउवाले मधेसी जनताको भावनालाई उपेक्षा नगर्न ओलीलाई आग्रह गरे । एमालेले चलाएको आन्दोलन र ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै देउवाले भने, ‘मधेस र पहाडबीच मनोवैज्ञानिक असर पर्ने गरी दूरी नबढाउँ । यसले गम्भीर असर गर्छ ।’ देउवाले आगामी ०७४ माघसम्म तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले संविधान जारी गर्दाका प्रमुख राजनीतिक दलहरू संविधान कार्यान्वयनका लागि जिम्मेवारी भएर अघि बढ्नुपर्ने बताए । 
 
‘निर्वाचन हुन नसके म्याद थप्ने कुरा सधैं हुन सक्दैन । हामीले माघ ७ भित्र स्थानीय, प्रान्तीय र संघीय संसदको निर्वाचन गर्न सकेनौं भने संवैधानिक रिक्तता आउँछ । जतिबेला पनि म्याद थप्ने कुरा हुन सक्दैन । यसले हामीलाई नालायक बनाउँछ,’ देउवाले भने, ‘जतिसक्दो संसदको गतिरोध खोलेर निर्वाचनमा जानुपर्छ ।’ 
 
ओलीले निर्वाचनमा जानका लागि संविधान संशोधन आवश्यक नरहेको बताए । ‘जुन कुरा अहिले आवश्यकै थिएन, त्यही विषय किन ल्याइएको हो ? त्यसैलाई लिएर किन अडको थापिएको हो ?’ उनले भने, ‘अहिलेको संशोधन प्रस्ताव पारित हुँदा कुन धाराले निर्वाचनलाई सहयोग गर्छ र पास नगर्दा कुन धाराले अप्ठ्यारो पार्छ ?’ ओलीले संघीय प्रदेशको सीमांकन परिवर्तन गर्नेे विषय सम्बन्धित क्षेत्रमा नभएर महोत्तरी र सिरहातिर उठ्ने गरेको भन्दै प्रश्न गरे, ‘५ नम्बर प्रदेश टुक्र्याउने कुरा त्यही क्षेत्रमा नभएर किन महोत्तरी र सिरहामा उठ्छ ? किन नेपालको पहाड र तराई मिलेर बस्न नहुने ?’ 
 
देउवा र ओलीले अभिव्यक्तिमा आक्रोश मात्रै होइन, निष्कर्ष पनि निकाले । अन्तिममा दुवैको एउटै निष्कर्ष थियो, ‘अब द्वन्द्वतिर होइन, सहमतितिर अघि बढ्नुपर्छ । सहमति गरेर संविधान कार्यान्वनयमा लाग्यौं भने मात्रै किसुनजीको आत्माले शान्ति पाउँछ ।’ कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले तत्काल अहिलेको गतिरोधको निकास नखोज्दा मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान बनाउने ढोका नै बन्द हुने अवस्था आउने खतरा रहेको बताए । ‘९१ प्रतिशतबाट जारी भएको संविधानलाई पनि कार्यान्वयनमा लैजान सकेनौं भने नेपालमा कस्तो संविधानले काम गर्ला ?’ सिंहले भने, ‘जनआन्दोलनको उपलब्धिलाई बचाउन संविधान कार्यान्वयनमा प्राथमिकता दिउँ । अरू सुधार गर्ने काम पछि गर्दै गर्न सकिन्छ ।’ 
 
कोषाध्यक्ष भेलामा पनि एमालेसँग खनिए देउवा 
कांग्रेस सभापति देउवा शुक्रबारै कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलामा झगडा चर्काउने, अविश्वास बढाउने र देशलाई विभाजन बनाउने दिशामा एमाले उद्यत रहेको भन्दै खनिए । ‘यस्तो काम एमालेबाट भइरहेको छ । मधेसमा शान्ति हुन्छ भने यो संशोधनले कहाँ बिगार्छ ? आफैंले हस्ताक्षर गर्ने अनि अहिले मधेसी जनताको भावनाविपरीतको गतिविधि गर्ने ?’ देउवाले भने, ‘आफू सत्ताबाट हट्नसाथ संसद् बन्द गर्न लाग्ने ? यो जिम्मेवारीपन होइन ।’ उनले संविधानले निर्दिष्ट गरेको समयभित्रै तीन तहका निर्वाचन गर्न योभन्दा फरक बाटो नभएको पनि बताए । पार्टीको यो लाइनमा फरक धारणा नराख्न आग्रह गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन र संविधान कार्यान्वयनमा बल पुर्‍याउने काम गर्न आग्रह गरे । 
 
त्यही कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हिमाल, पहाड र मधेसमा विश्वास टुटेको र अविश्वास बढेको अवस्थाको अन्त्य हुन आवश्यक रहेको भन्दै संशोधनले निर्वाचनलाई सहज बनाउने बताए । ‘संविधान संशोधन र निर्वाचनको विषयले अविश्वास पैदा गराएको छ,’ उनले भने, ‘आँठो–किलोमा अल्झेर बस्ने समय होइन यो । संविधान जारी गर्दा मिलेका दलहरू कार्यान्वयनमा पनि जिम्मेवारसाथ अघि बढ्न आवश्यक छ ।’ उनले एमालेलाई तराईका जनतामाथि अविश्वास नगर्न आग्रह गरे । कांग्रेस महामन्त्री शशांक कोइरालाले भने सीमांकन बदल्ने प्रस्तावले चुनाव हुन्छ कि हुन्न भन्ने आशंका पैदा गराएको बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।  (कान्तिपुर)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ