arrow

उपचार कथा : 'नेपाली हुल बाँधेर भारततिर, भारतीय बच्चा च्यापेर नेपालतिर'

logo
विक्रम गिरी,सुरेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष ९ शनिबार
03-secrets-doctors-wont.jpeg

झापा। बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल पस्नेहरुकै बीचमा सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे ।

भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोरालाई उपचारका लागि विर्तामोड आए । भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल पुगेका हुन् ।

“दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु,”उनले भने,  “भारतमा निको नभएपछि उपचार गराउन यहाँ आएको हुँ ।” छोराको उपचारका लागि तीन लाख खर्च गरिसकेको सन्तोषले सुनाए । यस्तै भारत सिक्किमकी सुनिता भण्डारी गुरुङ ८ वर्षीय छोरा विजयका साथ अस्पतालमा भेटिइन् ।

तीन वर्षदेखि लगातार छोराको उपचार गराउन नेपाल धाइरहेको उनले बताइन् । ‘साढे दुई वर्षको हुँदा देखिनै आँखाको समस्या छ, भारतीय अस्पतालमा जति उपचार गरेपनि रोगको पत्तो लागेन,” उनले भनिन् “यहाँ ल्याएपछि एकै दिनमा रोग पत्ता लाग्यो ।” छोराको रोग निको हुँदै गएको गुरुङको भनाइ छ ।

छोरालाई नियमित चेकजाँच गराउन आउने गरेको उनले बताइन् । विर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बढी भारतीय नागरिक हुन्छन् । अन्य रोगको उपचारका लागि दिनहुँ सयौँ नेपाली भारतका विभिन्न अस्पताल जाने गरेपनि आँखाको उपचार गर्न भने सोही सङ्ख्यामा भारतीय झापा आउने गरेका छन् ।

पहिला पहिला रोगले थलिएर बस्ने नेपाली अहिले आँखामा सामान्य समस्या देखिनासाथ अस्पताल पुगिहाल्छन् । घरआँगनमै उपचार सहज भएपछि केही समस्या हुनासाथ अस्पताल जान सजिलो पनि भएको छ । ‘आँखामा कचेरा आएपछि नजिकैको अस्पतालमा जचाउन आइहाले,” १ वर्षीय छोरा सम्भवलाई काखी च्यापेकी धुलाबारीकी सिर्जना कडरियाले भनिन्, ‘कचेरा झिक्न नियमित अस्पताल आउने गरेकी छु ।” “दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्” अस्पतालका नेत्ररोग विशेषज्ञ डा पवन महतले भने, ‘उपचार गर्न आउनेमा नेपाली र भारतीय बराबरीको सङ्ख्यामा छन् ।’

सन् १९९६ मा लायन्स क्लब अफ विर्तामोडले नेदरल्यान्डमा रहेको ‘आईकेयर’ फाउन्डेसनको सहयोगमा १५ दिनको आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा पाँच हजार ७३८ जनाले सेवा पाए । शिविरमै यति धेरै बिरामीको चाप देखेपछि नेदरल्यान्डको आईकेयर फाउन्डेसनले अस्पतालका रुपमा सेवा दिन मद्दत गर्ने बताएपछि सोहीवर्ष विर्तामोडमा आँखा अस्पताल सञ्चालन भएको लायन्सक्लब अफ विर्तामोडका संस्थापक अध्यक्ष तथा अस्पतालका पूर्वअध्यक्ष भरतलाल गिरीले बताए ।

स्थापनाको दुई दशकमा २० लाख ७० हजारभन्दा बढी बिरामीले आँखाको उपचार गराएका छन् । सुरुवातमा एकजना चिकित्सकबाट सेवा प्रारम्भ गरेको सो अस्पतालमा हाल १३ चिकित्सकसहित एक सय २० कर्मचारी छन् ।

अस्पतालले शनिबार समेत सेवा दिँदै आएको छ । अस्पताल २५ करोडको लागतमा स्थापना भएको प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए । अहिले अस्पतालसँग पाँचवटा अत्याधुनिक भवन छन् । ती भवनको उद्घाटन सन् २००९ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । अस्पतालले बिहानदेखि राति ८ बजेसम्म सेवा दिँदै आएको छ ।  

‘बालबालिकाका लागि छुट्टै सेवा प्रदान गर्दै आएका छौँ,” नेत्ररोग विशेषज्ञ डा महतले भने । “शल्यक्रिया गरेबापत बिरामीबाट दुई हजारदेखि  ३२ हजारसम्म सेवा शुल्क लिने गरेको छ । ‘न्यून शुल्कमा गुणस्तरीय उपचार पाउनथालेपछि भारतीय बिरामीको चाप बढ्दै गएको छ,” उनले भने । अस्पतालले मेची अञ्चलका विभिन्न जिल्लामा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैआएको छ ।

दुई सय ५० शय्याको अस्पताल सञ्चालन गर्न विभिन्न उपकरणको अभाव रहेको अस्पतालका प्रशासन प्रमुख बताउँछन् । सो अस्पतालसहित हाल जिल्लामा हाल मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल र दृष्टि आँखा अस्पतालबाट आँखाका बिरामीले सेवा उपभोग गर्दैआएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ