arrow

प्रसारण लाइनका कारण थप विद्युत् राजधानी ल्याउन समस्या

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
electric-transmission.jpeg
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण लाइन र हेटौँडा–सयूचाटार प्रसारण लाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भए पनि काठमाडौँ ल्याउन समस्या हुने भएको हो । 
 
भारतबाट आयात हुने थप विद्युत् हेटौँडासम्म ल्याइने र पश्चिम र राजधानी नजिकका आयोजनाबाट पूर्व पठाइएका विद्युत् राजधानीमा नै केन्द्रित गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणको रहेको छ । 
 
भारतबाट यही पुस १७ गतेबाट ४० मेगावाट विद्युत् थप हुनेछ भने आगामी माघ १६ गतेबाट थप ४० मेगावाट विद्युत् आयात गर्ने गरी भारतीय पक्षसँग विद्युत् खरिद सम्झौता गरिएको छ । 
 
ढल्केबर केन्द्रबाट आयात हुने विद्युत्लाई तत्काल हेटौँडा ल्याउने गरी आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । खिम्ती– ढल्केबर प्रसारण लाइनको काम यसै महिनाको अन्त्यसम्म सम्पन्न गर्ने तयारी गरिएको छ । 
 
आगामी हिउँदमा काठमाडौँलाई विद्युत्भार कटौतीमुक्त गराउन सबै उपाय अवलम्बन गरिरहेको प्राधिकरणले खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भने सहज रुपमा भारतबाट ल्याइएको विद्युत् खिम्ती–काठमाडौँ प्रसारण लाइनबाट राजधानी भित्र्याउने छ । 
 
यस्तै हेटाँैडा–स्यूचाटार प्रसारण लाइनको स्तरोन्नतिको काम जारी रहेको र त्यसका लागि एकाध महिना समय लाग्ने भएकाले उपयुक्त विकल्पको रुपमा खिम्ती–ढल्केबर प्रसारण लाइनलाई नै लिइएको छ । 
 
मुलुकभित्रका विद्युत्गृहबाट हेटौँडातर्फ प्रवाह गरिएको बिजुलीलाई काठमाडौँतर्फ मोड्न सकिने भएकाले विद्युत्भार कटौती अन्त्य गर्न सहज हुने प्राधिकरणको विश्वास रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ