arrow

एमाले नरोकिए हामी देशभरबाटै उत्रिन्छौं : उपेन्द्र यादव

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
upendra-yadav-600x0.jpg.jpeg

विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनरत दलका भावना र मागहरुलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गरे मात्र राजनीतिक गतिरोध अन्त्य हुने बताएका छन् ।

संघीय समाजवादी फोरम मोरङको प्रथम एकता अघिवेशनको विराटनगरमा उद्घाटन गर्दै  अध्यक्ष यादवले अहिलेको संशोधन प्रस्ताव अपुरो र अधुरो रहेको बताए । अध्यक्ष यादवले संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर ल्याए त्यसमा सहमति जुट्न सक्ने समेत बताए ।

त्यसलाई सच्याएर सबै उत्पीडनमा परेका, मधेशी, आदीवासी जनजाति, अल्पसंख्यक, मुस्लिमहरुको हक अधिकार सुनिश्चित हुने र आन्दोलनरत दलहरुले उठाएका मागहरुको सम्बोधन हुने गरी संविधान संशोधन आवश्यक रहेको यादवको भनाई छ ।
यादवले भने, ‘विभेदको अन्त्य गर्ने र भएका सबै त्रुटिहरु सच्याउने गरी संविधान संशोधन हुनुपर्छ, नभए संशोधनको औचित्य छैन । आन्दोलन जारी रहन्छ ।’

आफुहरु लोकतन्त्रमा विश्वास गर्ने भएकाले अहिलेको परिस्थितिमा संसदीय प्रणालीबाटै समस्या समाधान गर्न आफुहरु तयार रहेको यादवले बताए । अध्यक्ष यादवले सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार बन्दा गरेको तीन बुँदे सहमति पालना नगरेको आरोप लगाउँदै यदी मधेश आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दा फिर्र्ता, शहीद परिवार र घाइतेहरुलाई उचित आर्थिक सहायता दिने सम्झौता कार्यान्वयन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

अध्यक्ष यादवले एमाले नेपालीहरुबीचको सद्भाव विथोल्ने, सहिष्णुता विगार्ने र विखण्डन गरी जनताका अधिकार खोसेर मुलुकलाई प्रतिगमन तर्फ लैजान उद्दत भएको आरोप लगाए । यादवले अगाडि भने, ‘सद्भाव भड्काउने सहिष्णुता विगार्ने, विभेद गर्ने, जातीय द्वेष फैलाउने अभिव्यक्तिहरु एमालेले बन्द गर्नुपर्छ । त्यो नरोके एमाले विरुद्ध देशभरबाटै उत्रिन्छौं ।’ फोरम वरिष्ठ नेता असोक राईले आन्दोलरत संघीय गठबन्धन लगायतका दलहरुको भावना र मागहरुलाई समेटेर राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ