arrow

नारायणगढ–मुग्लिन सडकमा अरु साधन रोकिने, पर्यटक बस नरोकिने

logo
प्रकाशित २०७३ पुष १० आइतबार
tourist-bus.jpeg
रत्ननगर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइए पनि पर्यटक बस भने नरोकिने भएको छ । 
 
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे । 
 
चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक अन्यत्र गएकाले यो समयमा पर्यटक बसलाई नरोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए । 
 
पर्यटन व्यवसायी सुमन घिमिरेले सडक रोकिँदा हात्ती महोत्सवसमेत आएकाले यहाँ ठूलो समस्या परेको बताए । 
 
चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरीको निगरानीमा हरियो प्लेटका पर्यटक बसलाई पठाउन थालिएको बताए ।
 
सडक साँघुरो भएर निर्माणमा असर परेकाले बन्द गरेरै सडक निर्माण गर्नुपर्ने अवस्था आएको जनाउँदै बन्द गरेरै काम थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । 
 
यो अवरोध कम्तीमा पनि चार महिना जारी रहने उनले बताए । यही पुस ७ गतेदेखि बिहान ११ देखि अपराह्न ३ बजेसम्म सडक बन्द गरेर काम थालिएको छ । 
 
यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले सूचनामार्फत चालकलाई आग्रह गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ