arrow

फुटपाथबाटै कमाउधन्दा चलाउनेका कारण काठमाडौमा पैदल हिँड्नै गाह्रो !

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Footpath]-(3).jpeg

काठमाडौं । काठमाडौंमा साँझको समय हिड्नु छ भने तपाई जहाँ सुकै जानूहोस् त्यहाँ कुनै आन्दोलनमा गएको भन्दा कम्ता सास्ती व्यहोर्नुपर्दैन । यस विषयमा स्थानीयहरु यत्ति धेरै आक्रान्त बनेका छन् कि फुटपाथमा असुरक्षित बनेर हिँडिरहेकाहरु मध्ये कोही व्यवस्थापन गर्न नसकेको भनेर महानगरपालिकालाई सराप्दै हिँडिरहेको भेटिन्छन् त यस विषयमा कतिपयले महानगरमा गएर समेत गुनासो गरिसकेको महानगरपालिकाले जनाएको छ । 

जब शहरमा धेरै मानिसहरुको बसोबास हुन्छ, अवश्य पनि त्यहाँ फुटपाथको व्यवस्था गरिएको हुन्छ । यो नेपालको मात्रै नभएर सम्पूर्ण विश्वले नै सिकाएको कुरा हो । तर, काठमाडौंको फुटपाथ यस्तो छ कि यहाँ कुनैपनि मान्छे सहज रुपमा फुटपाथबाट हिँड्छु भन्नु नै सम्भव जस्तै भईसकेको छ । किनकी १ सय मिटरको फुटपाथ हिँड्न नपाउँदै त्यहाँ फुटपाथ कब्जा गरेर राखिएका सामग्रीहरु काठमाडौंमा छ्याप्छ्याप्ती भेटिन्छन् । 
 
शहरलाई व्यवस्थित बनाउनकै लागि पैदलयात्रीको लागि बनाईएका फुटपाथलाई सरकारले सदुपयोग गर्न नसकेको भन्ने या त शहरबासीको ज्यादती ? जे भनेपनि यो दुईवटै पक्ष हाबी भएर अहिले राजधानीका फुटपाथहरु हडपिने काम व्यापक रुपमा बृद्धि भईरहेको छ ।    
 
केही दिन अगाडि मात्रै काठमाडौंकै वानेश्वरमा एउटा निर्माणाधिन घरले फुटपाथमा निर्माण सामग्री राखेको तस्वीर सहित हाम्राकुरा डटकममा समाचार प्रकाशित भयो । काठमाडौं महानगरपालिकाले यस विषयमा आफूहरुले सक्रियता देखाइरहेको जानकारी दियो । महानगरका तत्कालीन प्रहरी प्रमुखले त्यो सामान तत्कालै हटाउने आश्वासन पनि दिए । तर त्यो महानगरले हटाएन या त निर्माणाधीन घरका ठेकेदारले फेरि पनि सामान ल्याएर राखे त्यो उनीहरु कै बीचको कुरा होला । तर त्यसको ठीक भोलिपल्ट जाँदा पनि त्यहाँको सामग्री हटाईएको थिएन ।
 
अहिले काठमाडौं महानगरपालिका मातहतका मुख्य चाप हुने क्षेत्रमा तीन वटा पक्षले फूटपाथ व्यवस्थापनमा बाधा सिर्जना गरिरहेका छन् । ती ३ पक्षमा पहिलो पक्ष व्यवसायी, दोस्रो पक्ष सरकारी निकाय र तेस्रो पक्ष महानगरप्रहरी नै हो । पहिलो दुई पक्षको ज्यादती कसरी बढीरहेको छ भन्ने विषयमा आगामी अंकमा सामग्री प्रस्तुत गरिने छ । तर, महानगर प्रहरीकै कारण कसरी फुटपाथ अव्यवस्थित भईरहेको छ ? यस विषयमा भने तल प्रस्तुत गरिएको छ ।  
 
हप्ता असुलीको विगविगी 
काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्रको फुटपाथ तथा सार्वजनिक सम्पत्ति संरक्षणको लागि भनेर प्रहरी खटाउने गरेको छ । विभिन्न क्षेत्रहरु छुट्टाएर महानगरपालिकाले जनसंख्याको बढी चाप हुने क्षेत्रमा बढी प्रहरी खटाउँदै फुटमाथमा देखिने अव्यवस्थाहरु हटाउने प्रयास गरेको देखिन्छ । तर विडम्वना नै भन्नुपर्छ कि महानगरले खटाएका प्रहरीहरु आफ्नो व्यक्तिगत स्वार्थमा लाग्दा महानगरपालिकाको समेत प्रतिष्ठा दाउमा पार्न उद्दत रहेका छन् । 
 
महानगरपालिकाले खटाएका प्रहरीहरु आफैं हप्ता असुलीमा संलग्न हुँदा फुटपाथ भने सधैंभरी भद्रगोल अवस्थामा रहने गरेको छ । यस्तो असुलीमा संलग्न भएका प्रहरीहरु महानगरपालिकाका कर्मचारीले भनेको समेत मान्दैनन् । उनीहरु कुनै निश्चित ठाउँको सामान हटाउन उर्दी जारी गरेपछि सामान हटाउन सक्रिय भए जस्तो देखाउँछन् । तर, भोलिपल्ट त्यहाँ फेरि सोही व्यक्ति व्यापार गरेको महानगरप्रहरीले देख्दैन । 
 
किनहुन्छ त यस्तो ? महानगरका प्रहरीका एक अधिकारीले हाम्राकुरासँग भने वानेश्वर, सुन्धारा, बागबजार, रत्नपार्क लगायतका क्षेत्रहरुमा सक्रिय रुपमा प्रहरीले नै हप्ता असुली गरिरहेको छ । अनि किन समात्छ त ? प्रहरी नै यस्तो काममा संलग्न हुने गरेको कुरा फुटपाथमा व्यापार गर्ने व्यापारीहरुले नै बताउने गरेका छन् । 
 
केही दिन अघि हाम्रा प्रतिनिधिले यही आरोप पुष्टि गर्नको लागि सुन्धाराको एक कपडा व्यवसायीसँग अनौपचारिक कुरा गर्दा उनले भनेका थिए ‘के गर्नु हजुर हामी यहाँ बसेको भाडा लाग्दैन भन्ने त तपाईँहरुको सोचाइ मात्रै त हो नि । पैसा तिरिएको थिएन भने यतिबेलासम्म हामी यहाँ व्यापार गरेर बस्न सकिन्थ्यो र ? हामी प्रहरीको फन्दामा पुगिसकेका हुन्थ्यौ ।’
 
यसरी महानगरपालिकाका प्रहरीहरुले हरेक हप्ता व्यापार गर्ने व्यापारीहरुसँग पैसा उठाउने र पैसा नदिने व्यापारीहरुलाई छड्के हान्ने भनेर धम्की दिने वा त सामान जफत नै गर्ने गरेको व्यापारीहरु बताउँछन् । 
 
तर, यस विषयमा महानगरप्रहरी भने सहमत छैन । महानगर प्रहरीका महाशाखा प्रमुख विष्णु जोशीले महानगर प्रहरीको पनि फुटपाथ व्यवस्थापनमा केही कमजोरी भएको भएपनि हप्ता असुलीको आरोप भने मिथ्या रहेको दाबी गरे । 
 
उनले फुटपाथको अवरोध हटाउनको लागि ट्राफिक जाम पनि बाधक भएको उनको भनाई थियो । प्रमुख जोशीले भने ‘हामीले गाडी लिएर जान्छौं एउटा चोकमा जाम पर्छ । त्यहाँ कुर्नैप¥यो । जाम खुलेर त्यहाँ पुग्दा त सामान सबै कता लुकाई सकेका हुन्छन् ।’
उनले परोपकारदेखि भोटाहिटी सम्मको बाटोमा अहिले कुनैपनि अवरोध नरहने गरेको भन्दै स्थानीयको सहयोग पाए सबैतिर यस्तौ अवरोध रहित फुटपाथ बनाउन महानगरपालिका सक्षम रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ