arrow

ऊर्जामन्त्रीले भने –दिनरात नभनी काम गर्नुस्, उज्यालो नेपालको सपना साकार पार्नुस्

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Janardan.jpg.jpeg

काठमाडौँ । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको विकासका लागि तय गरिएका कार्ययोजनाको शतप्रतिशत कार्यान्वयनका लागि दिनरात नभनी काम गर्न मन्त्रालय र मातहतका विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा सोमबार आयोजित ‘चालु आर्थिक वर्षका आयोजनाको पहिलो चौमासिक प्रगति समीक्षा एवं समाधानका उपाय’ विषयको कार्यक्रममा मन्त्री शर्माले निर्माणाधीन आयोजनाको कार्यप्रगति बढाउन र समस्या देखिएका क्षेत्रमा विशेष ध्यान दिन सम्बन्धीत सबै पक्षसँग आग्रह गरे ।
 
मन्त्री शर्माले सरकारको प्रमुख लक्ष्यका रुपमा रहेको विद्युत्भार कटौती अभियानलाई विशेष प्राथमिकतामा राख्न र सोहीअनुसार अगाडि बढेको कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदै ‘उज्यालो नेपाल’को सपना साकार पार्नका लागि कुनै पनि कमजोरी नगर्न विभागीय प्रमुखलाई निर्देशन दिए ।

सरकारले केही ठूला जलविद्युत् आयोजना अगाडि बढाउने सोच राखेको भन्दै मन्त्री शर्माले त्यसको आवश्यक भौतिक एवम् प्राविधिक तयारी तत्काल गर्नसमेत ध्यानाकर्षण गराए ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले मन्त्रालय मातहत पहिलो प्राथमिकतामा ३२, दोस्रो प्राथमिकतामा तीन र तेस्रो प्राथमिकतामा दुई गरी कुल ३७ आयोजना सञ्चालनमा रहेको भन्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीको कार्यप्रगति उत्साहजनक रहेको बताए ।

सचिव उपाध्यायले सबै कर्मचारी तथा विभागीय प्रमुखलाई राष्ट्रिय आवश्यकताको ख्याल गरेर अगाडि बढ्न र कार्यसम्पादनमा कुनै पनि कसर बाँकी नराख्न आग्रह गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ