arrow

बालुवाटार वार्ता : सत्ताधारीले भने निर्वाचनको मिति तोकौं, गठबन्धन नेता तर्सिए

मिति तोकौं भनेपछि अफ्ठयारो सिर्जना भयो : शशांक

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
PM-ko-niwas-ma-batmardai.jpeg

काठमाडौं । मधेस केन्द्रित दलहरुले सत्ताधारीको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको काँग्रेस, माओवादी र संघीय गठबन्धनका नेताहरुको बैठक दलीय अडानकै कारण निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।   

बैठकमा सहभागि काँग्रेस महामन्त्री शशांक कोइरालाले हाम्राकुरासँग भने, ‘बैठक ठिकै भो भनौं । तर त्यहाँ अफ्ठ्यारो सिर्जना भयो ।’ हामीले मधेस केन्द्रत दललाई निर्वाचनको मिति त तोकौं भन्दा उहाँहरुले मान्नु भएन, महामन्त्री कोइरालाले अगाडि भने, ‘पहिले संविधान संशोधन प्रक्रिया त अगाडि बढाउनुस् भन्नु भो ।’

संघीय गठबन्धनका नेताहरुले पहिले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर जाउँ भन्ने अडान राखे । महाममन्त्री कोइरालाले भने, ‘उहाँहरुले त यति सम्म पनि भन्नु भो कि संविधान हामीले ल्याएको होइन । तीन दलले बनाएको हो ।

संविधानका सबै जशो विषयहरु संशोधन गर्नु छ । हामी तपाईहरुलाई जहाँ पनि सहयोग गर्छौं ।’ संसदको अवरोध खोल्ने विषयमा पनि कुरा भएको बताउँदै महामन्त्री कोइरालाले गठबन्धनका नेताहरुले प्रक्रियामा जानुस्, प्रेसर हाल्नुस्, एमाले नआएर कहाँ जान्छ भनेको जानकारी दिए ।

बैठकको थप कुरा गर्दै कोइरालाले भने, ‘शेरबहादुर जी ले पटक–पटक भन्नु हो चुनावको (कोइरालाको भाषामा)डेट डिक्लेर गरौं भनेर । उहाँहरु सहमतिमा आउनु भएन ।’ अब थप छलफल गर्ने कुरा भएको छ । संघीय गठबन्धनका नेता आफुहरु कमजोर रहेको अवस्थामा निर्वाचनमा जानु हुँदैन भन्दै तर्सिएका बताइएको छ ।

बैठकमा सहभागि तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले आफुहरु निर्वाचनबाट नभागेको तर, पहिले संविधान संशोधन प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने पक्षमा रहेको बताए ।

सदनको अवरोध अतोकतान्त्रिक भएको भन्दै आफुहरुले संसदीय प्रक्रियामा गएर भएपनि अघि बढ्नु पर्छ भनेको नेता रायले हाम्राकुरालाई जानकारी दिए । प्रस्ताव फेल भए मान्नु हुन्छ, निर्वाचनमा जानु हुन्छ ? जवाफमा उनले भने, ‘निर्वाचन भन्दा पनि तीन दलले हिजो जसरी संविधान जारी गरेका थिए । त्यसरी आवश्यक संशोधन गरेर अघि बढ्नु पर्नेमा हाम्रो जोड हो । विना संशोधन कसरी निर्वाचन हुन्छ । देश संघीयतामा गयो पनि भन्ने फेरि पुरानै संरचनामा निर्वाचन गरौं भन्ने । यो तरिका भएन । विपक्षीले हठ त्याग्नु पर्छ । सरकारले प्रक्रिया अघि बढाउनु पर्छ ।’      

यस्तै, बैठकले जारी छलफललाई घनिभूत बनाउँदै एक, दुई दिनभित्रै राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीले २०७४ माघभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान रहेको बताउँदै राजनीतिक निकासका लागि बिलम्ब गर्न नहुने धारणा राखे । कांग्रेस र माओवादी केन्द्रका नेताहरुले स्थानीय निर्वाचनको घोषणा गरेर मुलूकलाई निकास दिन र संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने राजनीतिक वातावरणका लागि गठबन्धनका नेतासँग सहयोगको आग्रह गरे ।

बैठकमा गठबन्धनका नेताले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर टुंगोमा पुगेपछि निर्वाचनमा जानु उपर्युक्त हुने भन्दै राजनीतिक संकटमा समाधानका लागि लचिलो हुन तयार रहेको बताए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, मातृका यादव, स्थानीय विकास मन्त्री हितराज पाण्डे सहभागि भए ।

यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु बैठकमा सहभागि थिए ।

वुधबार मुख्य तीन दलको बैठक
वुधबार बिहान ११ बजे मुख्य तीन दल नेपाली काँग्रेस, एमाले, माओवादीकेन्द्रको बैठक बस्दै छ । बैठकमा संसदको अवरोध खोल्ने र निर्वाचनको मिति घोषणा लगायत विषयमा छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ