arrow

अरुका नजरमा गगन हिरोः गगनका नजरमा को हुन् ६ युवा नेता ?

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
Gagan-thapa.jpeg
काठमाडौं । पछिल्लो समय राजनीतिप्रति वितृष्णा बढे पनि स्वास्थ्यमन्त्री गगन थापा युवानेताका रूपमा रुचाइएका छन् । यी नेताले आफ्ना समकालीन तथा अरू युवानेतालाई कसरी चिन्छन् त ? थापाले अलग–अलग पार्टीका ६ युवानेता छाने र उनीहरूबारे भने ।
 
जिम्मेवारी पूरा गरेरै छाड्ने प्रदीप पौडेल
प्रदीप पौडेलसँगको मेरो संगत स्कुले जीवनदेखिकै हो । उनी मिहिनेती छन् । आफूलाई दिएको जिम्मेवारी जसरी पनि पूरा गर्ने उनको स्वभाव छ । उनको अर्को राम्रो पक्ष के हो भने उनी नजानेको विषय सिक्न संकोच मान्दैनन् । उनी सरल छन् । र, जोसुकैसँग पनि घुलमिल हुन सक्छन् । उनीसँगको संगत वर्षौंसम्म पनि समान रहन्छ ।
 
जेनेरेसनकै ह्यान्डसम योगेश भट्टराई 
उमेरमा जेठो भएकाले उहाँलाई म योगेश दाइ भन्छु । उहाँकोे व्यक्तिगत जीवनशैली पनि राम्रो छ, सधैँ एउटै । उहाँलाई म यो ‘जेनेरेसन’कै ‘ह्यान्डसम’ नेता भन्न रुचाउँछु । उहाँको आफूलाई सधैँ ‘मेन्टेन’ गर्ने जुन शैली छ, त्योबाट हाम्रो पुस्ताले सिक्नुपर्छ ।
 
उहाँमा ‘पोलिटिकल क्लारिटी’ छ र सँगसँगै ‘स्ट्यान्ड’ पनि । अन्तरपार्टी छलफलमा पनि उहाँ सहज हुनुहुन्छ । उहाँको सबभन्दा राम्रो ‘क्वालिटी’ भनेको ‘क्रसपार्टी’ काम गर्न सक्नु हो ।
 
झोँकी तर कामका भोका जनार्दन शर्मा 
जनार्दन शर्मा भूमिगत हुँदादेखि नै मैले ‘फलो’ गरेँ । उहाँ झोँकी स्वभावका लाग्नुहुन्छ । तर, उहाँको काम गर्ने भोक गज्जबको छ । कामप्रति लगाव छ । संसदीय समितिमा छलफल भएका विषयमा उहाँ मन्त्रिपरिषद्मा लड्नुहुन्छ । उहाँ हरेक विषयमा खरो उत्रिने मान्छे हो।
 
वाकशैली गज्जब भएकी अनुराधा थापामगर
नेपाल मजदुर किसान पार्टीको विशेषता नै हो– संसदीय अभ्यासलाई भरपुर उपयोग गर्ने । पार्टीगत हिसाबले आधारभूत कुरामा उहाँहरूसँग असहमति भए पनि उहाँहरूको प्रस्तुति सम्मानलायक छ । 
 
यही दलकी सांसद अनुराधाजीको पनि छुट्टै प्रभाव छ । उहाँ संसदमा उठाउने विषयमाथि गम्भीर अध्ययन गर्नुहुन्छ । उहाँको प्रस्तुतिको शैली लिखित बोलीझैँ एकदमै ‘हेभी’ लाग्छ । पूर्वतयारीसाथ भएकाले पनि होला, उहाँको वाककला लोभलाग्दो छ । उहाँ विषयप्रति गम्भीर, कामप्रति समर्पित लाग्छ ।
 
मधेसप्रति लगाव भएका मनीषकुमार सुमन
मनीषकुमार सुमनमा मधेसी मुद्दाप्रति भित्रैदेखि लगाव छ । देखाउन मात्र नभएर उहाँ मधेसप्रति साँच्चै संवेदनशील भएर ‘अजेन्डा’ उठाउनुहुन्छ । बल्झाउने वा ‘बार्गेनिङ’ गर्नेभन्दा पनि उहाँमा समस्या समाधान गर्ने ‘नेचर’ छ । 
 
अहिलेको राजनीतिमा अर्काको जुत्तामा आफ्नो खुट्टा पनि हाल्न सक्ने स्वभावको युवा नेता चाहिएको छ । यो विशेषता मनीषमा छ ।
 
समन्वयकारी अइन्द्रसुन्दर नेम्वाङ
अइन्द्रसुन्दर नेम्वाङसँग मेरो चिनजान भएको लामो समय भयो । संविधासभाको मस्यौदा तयार पार्दा मैले उहाँसँगै काम पनि गरेँ । उहाँ संयोजक रहेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगसम्बन्धी उपसमितिको म सदस्य थिएँ । त्यही आधारमा मलाई उहाँ अत्यन्त समन्वयकारी लाग्यो । 
 
उहाँमा फरक–फरक राजनीतिक धारलाई मिलाउन सक्ने क्षमता छ । उहाँले भरसक सबैलाई मिलाएर लाने कोसिस गर्नुभयो । सानो पार्टीको युवा नेता हुनुका बाबजुद उहाँमा राष्ट्रिय नेतामा हुनुपर्ने गुण छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ