arrow

ओलीले सत्ताधारीलाई सोधे कुन राजनीति गर्नु हुन्छ ?

प्रमुख तीन दलको बैठक : मख्ख नेताहरुले सहमति गरेनन्

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
PM-sanga-meet-tin-dal.jpeg

काठमाडौं । राजनीतिक गत्यावरोध अन्त्य गर्ने प्रमुख तीन दलको प्रयास फेरि पनि विफल भएको छ । सत्तारुढ दुई दल काँग्रेस र माओवादी केन्द्रले प्रमुख विपक्षी एमालेसँग वुधबार गरेको छलफल समेत उपलब्धिमूलक बन्न सकेन ।

बैठकमा सत्तारुढ र विपक्षी दुबै तिरका नेता मख्ख देखिएपनि पुरानो अडानबाट टसमस भएनन् । सत्तापक्षबाट संविधान संशोधन विधेयकलाई संसदबाट टुंगो लगाउने पहिले देखिकै प्रस्ताव आयो, बैठकबाट बाहिरिएपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘हामीले फिर्ता वा स्थगन गर्नु पर्छ भन्ने पुरानै अडान राख्यौं ।’ उहाँहरुले संशोधन विधेयक अघि बढाउन सहयोग गरिदिनु पर्यो भन्नु भयो । हामीले हुँदैन भन्यौं, ढकालले अगाडि भने, ‘लोकमानसिंह कार्कीविरुद्धको महाभियोग र निर्वाचन विधेयक अघि बढाउने सन्दर्भमा हामीले खुलेरै सहयोग गर्छौ भनेका छौं ।’

तपाईको अध्यक्षले के भन्नु भो ? जवाफमा उनले भने, ‘उहाँले निषेधको राजनीति खोज्नु हुन्छ कि सहमतिको ? भनेर सोध्नु भो । संशोधन विधेकयक बीचमा मिसाउन ल्याएकाले मान्य छैन पनि भन्नु भो । आवश्यक विधेयक अघि बढाउन तयार छौं । अघि बढाउने नाममा संशोधन विधेयक छिराउन पाइँदैन पनि भन्नु भएको छ ।’ अब गल्नु भा हो, सदन खोल्नु हुन्छ ? ढकालले भने, ‘संशोधन  विधेयक स्थगित भए । सदनका कल्ले अवरोध गर्छ र ! छलफल जारी छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जसरी पनि गर्नै पर्छ भन्नु भएको छ । हामी पनि निर्वाचनकै पक्षमा छौं । उहाँले २०७४ माघ भित्र तीनै निर्वाचन सक्नु पर्छ भन्नु भो, ढकालले भने, ‘निर्वाचनका लागि हामी तयार छौं भन्यौं ।’ यस्तै ढकालले काँग्रेस नेताहरुले पुरानै संरचनामा भएपनि निर्वाचन गर्नु पर्छ भन्दै आएपनि प्रधानमन्त्रीले स्थानीय तहकै निर्वाचन गर्ने बताएको जानकारी दिए ।

प्रमुख सचेतक ढकालले पुनःसंरचना आयोगले तयार पारेको प्रतिवेदन तत्काल बुझेर निर्वाचन घोषणाको तयारी गर्न प्रधानमन्त्रीलाई भनेको समेत बताए ।  अध्यक्ष ओलीले ‘निर्वाचनको कुरा गर्नुहुन्छ भने ठिक छ, सदन  खोल्न तयार छौं । संशोधनको कुरा गर्नुहुन्छ भने संसद खोल्दैनौं’ भनेको ढकालले बताए ।

संशोधन रोकिदैन, एक दुई दिन हेरौं न !
बैठकमा सहभागि माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संशोधन विधेयक नरोकिने बताए । छलफल भइरहेको छ, नेता श्रेष्ठले भने, ‘एमालेलाई हामीले सदन खोल्न भन्यौ । मान्दैन भन्यो । छलफल भइरहेको छ । संशोधन विधेयक स्थगित हुँदैन । छलफलमै छौं । एक दुई दिन हेरौं न ।’ संशोधन विधेयक नरोकिने भए, शीर्ष तह र दोस्रो तहका नेताको व्यस्तता किन बढेको ? जवाफमा उनले भने, ‘सहमतिकै वातावरणका लागि हो । एक दुई दिनमा सहमति नजुटे के गर्ने भन्ने निधो हुन्छ । विकल्प खोजिन्छ ।’

निर्वाचनका लागि सकारात्मक
प्रमुख तीन दल स्थानीय तहको निर्वाचनका लागि सकारात्मक देखिएका छन् ।  प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनमा जान दलहरु सकारात्मक देखिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध हटाएर संविधान संशोधनको विषय प्रक्रियाबाटै टुंगो लगाउन प्रमुख प्रतिपक्षलाई आग्रह गरे ।

दाहालले संविधान संशोधन, निर्वाचन, निर्वाचन सम्वन्धी विधेयक, लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव एवं स्थानीय तह पुनःरचना आयोगको प्रतिवेदन लगायतका विषयमा प्रमुख दलबीच समझदारी बनाएर अघि बढ्न भने ।

बैठकमा प्रधानमन्त्रीले राखेका विषयमाथि दोहोरो छलफल भएको र सहमतिका लागि दुई दल, तीन दलको सम्वाद जारी राख्ने सहमति जुटाउने निष्कर्ष निकालिएको नेताहरुले बताए ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका झलनाथ  खनाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पम्फा भुसाल, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतको सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ