arrow

प्राधिकरण तातेपछि ९७ लाख बक्यौता असुली

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
electric-authority.jpg.png
चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा रु ९७ लाख २५ हजार ६४७ बक्यौता रकम उठाएको छ । कार्यालयले लामो समयदेखि महसुल नबुझाउनेको ग्राहकको लाइन काट्न थालेपछि बक्यौता रकम असुली गरेको हो । 
 
लाइन काटिएका ग्राहकमध्ये ५०६ जना ग्राहकले बक्यौता रकम बुझाएको कार्यालयले जनाएको छ । 
 
कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कार्यालयले पछिल्लो समयमा सरकारी कार्यालयप्रति पनि बक्यौता उठाउनका लागि लाइन काट्न थालेको छ । 
 
जसमध्ये कार्यालयले अहिलेसम्म जिल्ला शिक्षा कार्यालय, जिल्ला अदालत, जिल्ला जनस्वास्थ्य कार्यालय, डिभिजन सडक कार्यालयको निवास, नापी कार्यालयलगायतको लाइन काटेर बक्यौता असुल गरेको छ । अन्य बक्यौता रकम बढी रहेका कार्यालयको पनि लाइन काट्ने प्रक्रिया भइरहेको उनले बताए । 
 
 
कार्यालयको सडक बत्तीसहित रु २६ करोड बराबरको बक्यौता रकम रहेको छ । जसमध्ये रु नौ करोड ग्राहकको रहेको छ । 
 
ग्राहकमध्ये सबैभन्दा धेरै एसके इलेक्ट्रिकको रु तीन लाख ५१ हजार ४६१, सुलभ प्लास्ट्रिकको रु दुई लाख ७९ हजार ५४९ र चितवन कोल्ड स्टोरको रु दुई लाख ६३ हजार २९७ रहेको कार्यालयले जनाएको छ । 
 
लामो समयसम्म बक्यौता नतिर्ने चार सय ३५ ग्राहकलाई वितरण केन्द्रले कालोसूचीका लागि क्षेत्रीय कार्यालयमा पठाउने तयारी थालेको इन्जिनियर पौडेलले बताए ।
 
उनका अनुसार विद्युत् माग गर्ने ग्राहकको चाप पनि कार्यालयमा बढी रहेको छ । मङ्सिर महिनामा मात्रै विद्युत्को माग गर्दै एक हजार १०५ जनाले निवेदन दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ