arrow

तेह्रथुममै बन्यो संसद

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ पुष १४ बिहिबार
Terhathum-hamrakura.jpeg
तेह्रथुम। सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला विकास समितिको सभाहलमा बुधबार  दिनभर चुनावी माहोल थियो । को राष्ट्रपति बन्ने ? को सभामुख, उपसभामुख, प्रधानमन्त्री, गृहमन्त्री या अर्थमन्त्री बन्ने ? को कुन मन्त्री बन्ने ? सबैलाई चुनावी माहोलले छोएको थियो । धेरैको मुहारमा उत्साह र जोस् देखिन्थ्यो । 
 
नभन्दै दिउँसो अवेर निर्वाचन भएर परिणाम आयो र संसद गठन भयो । चुनावी परिणामबाटै कल्पना दाहाल राष्ट्रपति, आकाश विश्वकर्मा सभामुख र झरना लिम्बु उपसमामुख चयन भए । मेघराज थापा प्रधानमन्त्री बने, लोकेश क्षेत्री विपक्षी दलको नेता बने । सत्तापक्ष प्रमुख सचेतक सिर्जना कार्की र सचेतक दुई स्वर्णदीप लिम्बु चयन भए ।
 
विपक्षीको तर्फबाट प्रमुख सचेतक विपीन अधिकारी र सचेतक दुई सविना श्रेष्ठ चुनिए । गृहमन्त्री सुरेश खत्री बने ।  अर्थमन्त्री विनिता पोखरेल, शिक्षामन्त्री पार्वता लिम्बु, स्थानीय विकास मन्त्री मथुरा मगर, युवामन्त्री मनिषा बुढाथोकी बनिन् ।
 
महिला तथा बालबालिका मन्त्री संगीता खड्का, श्रममन्त्री प्रकाश भण्डारी, स्वास्थ्य, भौतिक योजना तथा पुर्वाधार विकास, गरिवी निवारण र ऊर्जा मन्त्रीमा क्रमशः सुनिता सुवेदी, सीता रिमाल, ममता दाहाल र कविता चौलागाई चयन भए । केही घण्टामै संसद र सरकार खडा गरिए । तर यो साँच्चिकै देश चलाउने संसद र सरकार भने गठन भएको होइन ।
 
युवाहरुमा व्यवस्थापिका संसदको प्रक्रिया र नीतिगत व्यवस्थाबारे जानकारी गराउने ध्येयले जिल्लाका युवाहरुलाई बोलाएर नेपाल युवा संस्था सन्जालले नमुना युवा व्यवस्थापिका संसद गठन गरेको हो । देशभरका युवा संस्थाहरुको सन्जाल नेपाल युवा संस्था सन्जालले युवाहरुको क्षमता अभिवृद्धि गर्न तथा संसदीय प्रक्रियाबारे जानकारी दिन संसद गठन गरेको हो ।
 
विपक्षी दलको नेता बनेका लोकेश क्षेत्री विहीबार संसद अवरुद्ध गर्ने तयारी छन् । मन्त्री र नेता बनेकाहरु पनि संसदको सम्बोधन गर्ने तयारी गरेका छन् । बुधबारबाट सुरु भएको कार्यक्रम शुक्रबार सकिनेछ । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ८० जना युवाहरु सहभागी छन् । कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष अनिल सिमखडा र आभाष राजोपाध्यायले गरेको संस्थाकै प्रताप अधिकारीले जानकारी दिए । 
 
युवाहरुमा नीतिगत ज्ञान तथा संसदीय प्रक्रियाबारे ज्ञान दिन बनाइएको संसदले साँच्चिकै क्षमता अभिवृद्धिको महसुस गरेको सुर्खेतबाट कामको शिलशिलामा यहाँ रहेका युवा लोकश महताराले बताए । सन्जालले राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा यसअघि सिन्धुपाल्चोक, बाग्लुङ, जाजरकोट र जनकपुर जिल्लामा पनि नमुना युवा संसद कार्यक्रम चलाइसकेको जनाएको छ । सन्जाल देशभरका ४४ जिल्लाका ९२ वटा युवा संस्थाहरुको छाता संस्था हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ