arrow

क्षेत्रीय विकासको अवधारणा राजा वीरेन्द्रले ल्याएका हुन् : अध्यक्ष थापा

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
kamal-thapa-at-birendra.jpeg
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन राजा वीरेन्द्रले राज्याभिषेकका क्रममा विश्व समुदायसामु नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राखेको प्रस्ताव राष्ट्रको सुरक्षाका लागि महत्वपूर्ण कूटनीतिक प्रयास भएको बताएका छन् । 
 
स्व राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको बिहिबार उद्घाटन गर्दै अध्यक्ष थापाले सो प्रस्तावको विश्वका ११६ राष्ट्रले समर्थन जनाएको र त्यसले मुलुकको राजनीतिमा दीर्घकालसम्म प्रभाव पारेको भए पनि पछिल्लो समयमा आएको उतारचढावले सो विषय अहिले ओझेलमा परेको बताए । 
 
अध्यक्ष थापाले भने – “राजा वीरेन्द्रले देशको समृद्धिका लागि क्षेत्रीय विकासको अवधारणा ल्याएको हो । जनमत सङ्ग्रहको अभ्यास अर्को उदाहरण हो ।” 
 
पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मुलुकको भू–राजनीतिक अवस्थालाई बुझेर तत्कालीन राजाले दुवै छिमेकी राष्ट्रसँग सन्तुलित विदेश नीति अपनाएको स्मरण गरे। 
 
इतिहासविद् डा सुरेन्द्र केसीले मुलुकको विकासमा राजसंस्थाले पुर्‍याएको योगदानको सराहना गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा शिक्षाको पहुँच विस्तार गर्ने कार्यमा राजा वीरेन्द्रको उल्लेख्य योगदान रहेको बताए । 
 
पूर्वउपरथी टीका धमला, समाजसेवी भरत बस्नेतलगायतले देशको स्वाभिमान र अविभाज्यतालाई कायम राख्न राजा वीरेन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा विभिन्न समयमा गरेका प्रयासका बारेमा चर्चा गरेका थिए । 
 
प्रतिष्ठानका अध्यक्ष शिवहरि नेपालले देशमा शान्ति स्थापना तथा दिगो विकासका लागि राजा वीरेन्द्रले गरेका कार्यको खोज अनुसन्धान गरिने बताए । 
 
विसं २००२ पुस १४ गते जन्मेका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परेर निधन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ