arrow

दिनकै भटाभट् गोली चल्दा सरकार आँखा र कान थुनेर बसेको छ : ओली

'समवेदना दिन गएका नेता सनसनी फैलाएर अाए'

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
oli.jpg.png

बुटवल । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनकै भटाभट् गोली चलिरहेको भन्दै सरकार नागरिकको जीउज्यानप्रति संवेदनशील नभएको बताएका छन् । सरकारले नागरिकलाई सुरक्षा दिन नसकेको आरोप लगाएका ओलीले युवासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या षड्यन्त्रमुलक भने ।

गएको पुस ४ गतका दिन तिवारीलाई घर नजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरेपछि उपचारका क्रममा निधन भएको थियो । अध्यक्ष ओलीले तिवारी हत्याको जिम्मा सरकारले लिनुपर्ने समेत बताएका छन् । तिवारी निधनको ११औं दिन विहिबार देबदह ४ सिगाहामा भएको शोकसभामा ओलीले दिनदहाडै गोली चल्दा सरकार आँखा र कान थुनेर बसेको आरोप लगाए । ओलीले भने, ‘जनता दिनदिनै गोली चलेर मरिरहेका छन्, सरकारलाई मतलव छैन ।’

प्रदेश नम्बर ५ को सीमाङ्कनविरुद्ध भइरहेको आन्दोलनबीच तिवारी हत्या हुनु संयोग नभएर षड्यन्त्र भएको ओलीको आरोप छ । एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले अपराधीलाई पक्रेर कारबाही गर्नेतर्फ सरकार गम्भीर नभए जनता सरकारविरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

यस्तै, अर्का उपमहासचिव घनश्याम भुषालले तिवारीले आफूलाई एउटा सच्चा देशभक्त र जनतामाझ लोकप्रिय युवाका रुपमा स्थापित गरेको बताए । भूषालले भने, ‘तिवारीको  हत्याबाट सिर्जित शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ तीनै नेताले परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गरे ।
 

संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन दिन्नौं
अध्यक्ष ओलीले संविधान संशोधन विधेयक असंवैधानिक र मुलुकको हितविरुद्ध भएको भन्दै कुनै हलतमा पारित हुन नदिने बताए । संविधान संशोधन र पाँच नं प्रदेश विभाजनको प्रस्तावविरूद्धमा आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले देवदहमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा अध्यक्ष ओलीले विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताउँदै भने, ‘यो विधेयक संसद्मा छलफलसमेत गर्न मिल्दैन किनकि यो असंवैधानिक छ ।’

ओलीले ‘वर्तमान सरकार सङ्क्रमणकाल टुङ्ग्याएर निर्वाचन गर्ने र सत्ता हस्तान्तरण गर्ने जिम्मेवारीबाट पन्छिएर संविधान विपरीत राष्ट्रिय एकतालाई नै कमजोर पार्ने ढङ्गले’ काम गरिरहेको आरोप लगाउँदै सरकारले देशलाई लोकतान्त्रिक विधिबाट राष्ट्रिय एकताका साथ अघि बढाउनेभन्दा पनि अराजनीतिक बाटो अख्तियार गरिरहेको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ