arrow

तीन दललाई दबाबः सहमति गर्न सभामुखले दिइन् तीन दिनको अल्टिमेटम

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
onsari.jpeg
काठमाडौँ । सभामुख ओनसरी घर्तीले संसद्को जारी गतिरोधमा सहमति खोज्न राजनीतिक दलहरूलाई तीन दिनको अल्टिमेटम दिएकी छिन् । आउँदो १८ गतेसम्म विवादित विषय वा प्रक्रियामा सहमति गर्न सभामुख घर्तीले समयसीमा तोकेकी हुन् । पुस १८ गतेसम्म सहमति नभए सदनमा प्रक्रिया अगाडि बढाउने पनि उनले दलका संसदीय दलका प्रमुख सचेतकमार्फत जानकारी गराइन् ।
 
उनले भनिन्, ‘मैले तीन दिनको समयसीमा दिएको छु । तीन दिनभित्र सहमति नभए छलफलको अर्को ठाउँ रोजिने छैन ।  सबै प्रयास संसद्भित्र नै हुन्छ ।  १८ गतेपछिका दिनमा एउटामात्र होइन दुई, तीनवटा पनि बैठक हुन्छन् ।  जति घनीभूत छलफल आवश्यक पर्छ संसदमै हुन्छ । ’
 
सभामुख घर्तीले ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई संसदका बैठकमा नियमित रहन पनि आग्रह गरिन् । सदन स्थगित भएको तीन दिनको अवधि उपयोग गरी संशोधन र निर्वाचनलगायत विषयमा सहमति गर्न उनले आग्रह गरेकी छिन् । विषयमा सहमति नभए प्रक्रियामा सहमति गर्न पनि सभामुखले आग्रह गरेकी छिन् । 
  
सभामुख घर्तीले यसअघि पनि दुई पटक प्रधानमन्त्रीलगायत दलका शीर्ष नेताहरूसँग परामर्श गरिसकेकी छिन् । सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छुट्टाछुट्टै परामर्श गरेकी थिइन् । यस्तै, गत सोमबार संसदमा प्रतिनिधित्व गर्ने ठूला सात राजनीतिक दलसँग पनि सभामुखले गतिरोध अन्त्यका लागि छलफल गरेकी थिइन् । 
 
सभामुखले पटक–पटक राजनीतिक दलहरूलाई सहमतिका लागि आग्रह गर्नु भए पनि दलहरूबीच बाक्लो संवादसमेत हुन सकेको छैन ।  सत्तारुढ र प्रतिपक्ष दलहरूका आफ्ना धारणाहरू यथावत छन् । 
 
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित नौ दलले बिहीबार पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेका छन् ।  दलहरूको अवरोधका कारण बिहीबार पनि संसद नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।  प्रतिपक्ष दलहरूको अवरोधका कारण सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको यो आठौँपटक हो ।  तीन पटक भने बैठक सूचना टाँसेर स्थगित भएको थियो । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ