arrow

५० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडियो

logo
रमेश लम्साल,
प्रकाशित २०७३ पुष १५ शुक्रबार
electric-transmission.jpeg
काठमाडौँ। चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल  मेगावाट विद्युत् उत्पादन भएको छ । 
 
ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । 
 
ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लो पटक गराएको जानकारी अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । 
 
यस्तै २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ । त्यसैगरी १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् । नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेको जनाए पनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ । ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरु भएको जनाए पनि हाल ५० मेगावाट क्षमता मात्रै जोडिएको बताइन्छ । 
 
चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङदीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले परीक्षण उत्पादनबाट जोडिएको विद्युत्ले पनि राष्ट्रिय प्रसारण प्रणालीमा सहज भएको जानकारी दिए । 
 
यस्तै चीनको चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेसन र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाको शुक्रबार ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । 
 
यस्तै नेपालको पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला आयोजना निर्माण सम्पन्न भएको छ । पाँचथरको फिदीममा सव स्टेसन निर्माण सकिएकाले केही दिनभित्रै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने जानकारी आफूहरुलाई दिएको प्रवक्ता अधिकारीले बताए । 
 
कालीका कन्ट्रक्सन प्रालिले निर्माण गरेको कालीका दरौदी जलविद्युत् कम्पनीले निर्माण गरेको ६ मेगावाट क्षमताको दरौदी ‘ए’ जलविद्युत् आयोजनाले पनि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन पहिले सो आयोजनाको उद्घाटन गरेका थिए । 
 
सरकारले चालु आवको अन्त्यसम्म दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा हालसम्म करिब एक सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल मुलुकभर विद्युत्को माग एक हजार २४५ मेगावाटमा झरेको छ । यसअघि एक हजार २८६ मेगावाट रहेको थियो । भारतबाट आयात गरिएको समेत गरेर ८५५ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । 
 
यस आधारमा प्रणालीमा ३९० मेगावाट विद्युत् अपुग हुन पुगेको छ । थप विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यही पुस १७ गतेदेखि भारतबाट थप ४० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ