arrow

कांग्रेस-मोर्चा वार्ताःसंशोधन प्रस्तावमा मोर्चाको समर्थन

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
.jpeg
ठमाडौ। संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अन्ततः उक्त प्रस्तावलाई समर्थन गर्ने भएको छ । संविधान संशोधन प्रस्तावमा अलमल धारणा राख्दै आएको मोर्चाले आफ्नो मागका विषयमा संशोधन दर्ता गर्ने गरी समर्थन जनाउन लागेको हो ।
 
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो बसेको कांग्रेस र मोर्चाका शीर्ष नेताको बैठकमा मोर्चाले संशोधन प्रस्तावमा समर्थन गर्ने सहमति जनाएको थियो ।
 
‘संविधान संशोधनको प्रस्ताव र निर्वाचनसम्बन्धी दुवै विधेयक संसद्मा सँगै टेबुल गर्ने सहमति भयो', वार्तामा सहभागी कांग्रेस नेता गोपालमान श्रेष्ठले अन्नपूर्णसँग भने, ‘उहाँहरू संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने र केही विषयमा संशोधन हालेर जान तयार हुनुभएको छ ।'
 
कांग्रेस सभापति शेरबहादुर देउवाले संशोधन पारित गराउने जिम्मा लिएपछि आफूहरू सहमत भएको तराई समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए । ‘आवश्यक परे संयुक्त संशोधन प्रस्ताव दर्ता गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ', उनले भने ।
बैठकमा देउवाले संविधान संशोधन र निर्वाचनसम्बन्धी विधेयक संसद्मा सँगै दर्ता गरेर अघि बढ्ने धारणा राखेका थिए । मोर्चाका नेताले भने संशोधन प्रस्ताव अघि बढाएमात्रै निर्वाचन विधेयकमा समर्थन गर्न सकिने बताएका थिए ।
 
देउवाले स्थानीय निकाय निर्वाचन जतिसक्दो छिटो गर्न आवश्यक भएको भन्दै केही दिनभित्रै मिति तोक्नुपर्ने धारणा राखेका थिए । ‘संविधान संशोधन र निर्वाचन दुवै विधेयक टेबुल हुने र त्यसको एक साताभित्रै स्थानीय निर्वाचनको मिति तोक्ने सहमति भएको छ', श्रेष्ठले भने, ‘मोर्चाका साथीहरू सहमत हुनुभएको छ ।'
 
मोर्चा नेताहरूले संशोधन प्रस्ताव सदनमा टेबुल भएपछि केही संशोधन प्रस्ताव दर्ता गर्ने बैठकमा जानकारी गराएका थिए । उनीहरूले संशोधन प्रस्ताव पारित भए स्थानीय चुनावका लागि तयार हुने धारणा राखेका थिए । देउवाले भने संशोधन प्रस्ताव पारित गर्ने जिम्मा आफ्नो भएको बताएका थिए ।
 
मोर्चा संशोधन प्रस्तावका पक्षमा आएपछि सरकारले एक महिनाअघि पेस गरेको संशोधन प्रस्ताव पारित हुने देखिएको छ । मोर्चाका साथै साना दलसँग पनि सत्तारूढ दलले समर्थनका लागि छलफल गर्ने भएका छन् ।
 
शनिबार र आइतबार साना दलसँग छलफल गरेर केही दिनभित्रै संसद्मा टेबल गर्ने रणनीतिमा सरकार छ । एमालेले अवरोध गरे पनि विगतको संसदीय अभ्यासका आधारमा पेलेर अघि बढ्ने कांग्रेस-माओवादी गठबन्धनको तयारी छ ।
 
बैठकमा कांग्रेस सभापति देउवा, नेता श्रेष्ठ र पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा मोर्चाबाट महन्थ ठाकुर, महेन्द्र यादव, अनिल झा, राजेन्द्र महतोलगायत नेता सहभागी थिए । (अन्नपुर्ण पोष्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ