arrow

राजनीतिको रिमोट कन्ट्रोल भारतीय दूतावासमै

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
Indian_Government_ban_email_services_1.jpeg
काठमाडौं । यतिबेला काठमाडौंको मौसम अलि ठीक छैन । चिसो बढ्दै छ । तर राजनीतिक मौसमको पारो भने बढ्दै गएको छ । ०७४ माघभित्र तीन निर्वाचनको रटान काढ्दै संविधान, विधि, विधान र कानुन लत्याएका दलका नेताहरु पनि कुँद्न थालेका छन् । त्यो कुँदाइ ‘संविधान मान्छु र संविधानअनुसार नै विधिको शासनमा लाग्छु’ भनेर पक्कै हैन ।  त्यो त केवल भोलि राजनीतिमा दुनो सोझाउन मिल्ने गरी भएको कुँदाइमात्र हो । हुनै नसक्ने चुनावको तिथि तोकेर हुने औचित्यको पुष्टि कसले गर्ने ? 
 
यति हुँदाहुँदै परिस्थिति मिलाउन माहिर लैनचौरनिर स्थापित ठूलो जमीन ओगटेर बसेको नेपालको जमीनदार दूतले सबै तमाम गरिरहेकै छ । उसलाई नेपालमा आफ्ना देशका जनताले पीडा पाए या खुशी पाए भन्ने गन्ती गर्ने चिन्ता छैन । बस् छ त नेपालमा कसरी राजनीतिक माहोल बनाउने । 
 
आफ्नै देशका असती कपुतहरुबीच सेटिङ नमिलेर देशले भोगेको नाकाबन्दी स्वभाविक ठानेर ठेकेदारसंग ज्यू हजूरी गर्न जाने प्रचण्डको दरबार लाजिम्पाट र लैनचौरको दरबार नजिक हुनु पनि नेपालका लागि दुर्भाग्य । त्यसैले त दूतावासले भनिदियो तत्काललाई प्रचण्डलाई सरकारबाट हटाउने हाम्रो रणनीति छैन ।
 
त्यसकै असर भनौं कि प्रभाव मधेसी नेताहरु (जो आफ्नो भूमिमा जन्मे पनि दक्षिणकै गुलामी गर्दागर्दा नथाक्ने मनस्थिति बनाए) मा यसरी प¥यो कि लैनचौरले लञ्च वा डिनर गराउनै परेन । बस् ब्रेकफास्टले पुग्यो । बाहिर विरोध गरेजस्तो गर्ने अनि भित्र संविधान संशोधन प्रस्तावको समर्थन गर्ने । 
 
‘एक मधेस प्रदेशभन्दा ठूलो कुरा त पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्रयाएर मधेसको एकलौटी राज्य बनाउन पाउने भइयो’ भनी दक्षिणले धमाधम खुशी जनाइरहेको छ । अनि मधेसी मोर्चाका नेताहरु छिमेकीको खुशीमा आफै खुशी भइरहेका छन् । दुई दिनसम्म मधेसी मोर्चाका नेताहरु छलफलमा जुट्नु, त्यसपछि मधेसी मोर्चाले पत्रकार सम्मेलन गरेरै संविधान संशोधन नभएसम्म चुनाव गर्नै दिन्न भन्नु र अर्को दिन सरकारसंग संविधान संशोधनमा लचिलो भएर चुनावी घोषणालाई स्वीकार्नु सबै रिमोट कन्ट्रोलबाट भएका हुन् ।
 
कुनै समय एमाले अध्यक्ष केपी ओली दक्षिणका भक्त थिए । दक्षिणबाट राम्रै दक्षिणा ल्याउँथे । पंडितबाजे बढी नखरमाउला भ एभने पंडित फेर्ने संस्कार कायमै छ भने दक्षिणले ओलीलाई फेर्नुमा के नराम्रो मान्नु । अहिले ओलीको ठाउँमा प्रचण्ड भर्ती भएका छन् । जब प्रचण्डले दक्षिणको राम्रो वास्तु गर्न जानेका छन् भने अहिले अर्को पंडित फेर्ने आवश्यकता नपर्नु स्वभाविकै हो ।
 
तसर्थ दक्षिणको चाहना बमोजिम मुलुकमा निर्वाचनको मिति घोषणा हुन्छ । अनि संविधान संशोधन पनि हुने सरकार निकट स्रोतको ठोकुवा छ । लैनचौर निकटका अनुसार लैनचौर ओलीको चुरीफुरीमात्र झार्न चाहन्छ । लैनचौर एमालेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालप्रति सकारात्मक छ । 
 
नेपालले अहिले दक्षिणको विरोध नगरी मौन समर्थन र सकारात्मक भाव देखाएका छन् । माधव नेपाल फेरि एकपटक एमालेको अध्यक्ष बन्न चाहन्छन् । नेतृत्व लिन चाहन्छन् । त्यसको माहोल बनाउन पनि उनी भक्त बनिरहेका छन् । यसलाई सकारात्मक रुपमा लिंदै दक्षिणले ओलीको पत्ता काटेर नेपाललाई स्थापित गर्ने सोच बनाएको छ । काँग्रेस यसै पनि दक्षिणको नतमस्तक भैहाल्यो ।
 
दक्षिणका हनुमानलाई राजदूत बनाएर काँग्रेसले ठूलो ऋण चुक्ता गरेको छ । दक्षिणी मुलुकमा नेपालीले कस्तो समस्या भोगेका छन् भन्ने फुर्सद हनुमानलाई हुनु त परैको कुरा आफ्नै वास पनि रेलको धुँवाले कालै बनाउँदासमेत पान खाएका दाँत ङ्च्च देखाएर सेवा गरिरहेका छन् । 
 
कांग्रेस सभापति शेरबहादुर देउवा त अबको प्रधानमन्त्री मै हुँ भन्दै दक्षिण जे जे माग्छ त्यही दिइरहेका छन् । उनलाई पाँच नम्बर प्रदेशबाट पहाड टुक्रिएर केही हुनेवाला नै छैन । त्यसैले पनि नेताहरुलाई चुप लागेर बस्न आदेश दिएका छन् । मन्त्री खान पाउने दाउले देउवातिर टाँसिएका काँग्रेस नेता चन्द्र भण्डारीलाईसमेत अहिले टाउको दुखाइ भएको छ । न त मन्त्री खान पाउनु न त पाँच नम्बर प्रदेशबाट आफ्नो जिल्ला गुल्मीलाई नहटाउन पहल गर्न पाउनु । 
 
उल्टै तीन हप्ताबढी जिल्ला बन्द गरेर बुढाबुढी, विरामीलाई सताएर श्राप लिएरमात्र फर्किएका छन् । ढिलोचाँडो अधिकांश नेताहरु ब्रेकफास्ट खान भन्दै लैनचौर ताँतीमा देखिने छन् । लैनचौरको सडक फेरि भीडभाडयुक्त देखिने छ । आखिर रिमोट कन्ट्रोल जहाँ छ त्यहीं नगएर अन्त कहाँ जाने त ? 
 
एक मधेसी नेताले भनेको खुवै घत लागेको छ ‘भाया मुलुक भाँडमे जाए, अपना रस्ता अच्छा होना चाहिए ।’ मुलुक जहाँसुकै जाओस् के मतलव आफ्नो बाटो सुदृढ भए सक्किगो नि ! (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ