arrow

बागमती करिडोर सात महिनाभित्र खुल्ने

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
bagmati-corridor.jpeg
काठमाडौं । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ । अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ । 
 
समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । बाँकी ६.५ किलोमिटर सडक निर्माण आगामी सात महिनाभित्र सकिनेछ ।
 
कहाँ कस्ता सडक बने ?
आव ०६७÷६८ बाट बागमती करिडोर निर्माण सुुरु भएको होे । अहिलेसम्म गोकर्णदेखि गौरीघाट दोभानसम्मको करिडोर निर्माण सम्पन्न भइसकेको छ । 
 
यस खण्डमा नदीको एकातर्फ मात्रै दुई लेनको सडक निर्माण गरिएको छ । तिलगंगा दोभानदेखि मीनभवनसम्म पनि सडक निर्माण सम्पन्न भएको छ । यस खण्डमा भने नदीको दुवै किनारमा दुई–दुई लेनको हुने गरी सडक निर्माण गरिएको छ ।
 
मीनभवन दोभानदेखि महादेव खोला हुँदै थापाथली दोभानसम्मको सडकखण्ड भने निर्माणाधीन छ । यस खण्डमध्ये कतिपय स्थानमा नदीको दुवै किनारबाट सडक खोलिएका छन् भने कतै नदीको एकातर्फबाट मात्रै सडक बनाइएको छ । 
 
थापाथलीदेखि बल्खुसम्मको सडकखण्ड निर्माणाधीन चरणमा छ । यस खण्डमा एकातर्फबाट मात्रै सडक निर्माण गरिएको छ ।
 
जग्गा प्राप्ति र सुकुम्बासीका कारण दुईतर्फी सडक निर्माणमा समस्या
समितिले जग्गा प्राप्ति र सुकुम्बासीका कारण सडक निर्माणमा समस्या आएको जनाएको छ । ‘कुनै ठाउँमा नदीको दुवै किनारबाट करिडोर निर्माण गरिएका छन् । 
 
कतिपय स्थानमा भने नदीको एकातर्फबाट मात्रै निर्माण भएका छन् । जग्गा प्राप्ति र सुकुम्बासी समस्याका कारण नदीको दुवै किनारबाट सडक निर्माण हुन नसकेको हो,’ समितिका परियोजना उपप्रमुख चित्रकारले भने ।
 
कोरिडोर निर्माणमा १५ अर्ब खर्च
बागमती करिडोर निर्माणका लागि १५ अर्बभन्दा धेरै खर्च भइसकेको समितिले जनाएको छ । बागमती नदीमा बाँध बाँध्ने, ढल निर्माण, बागमती नदी सफाइको काम सोही बजेटबाट भएको समितिको भनाइ छ ।
 
 ‘बागमती करिडोर खोल्नुको उद्देश्य उपत्यकाको ट्राफिक समस्या न्यूनीकरण गर्नु हो । करिडोर सञ्चालनमा आएपछि धेरैले यही सडकमार्ग प्रयोग गर्नेछन् । 
 
यसो हुँदा ट्राफिक समस्या न्यूनीकरणमा सहयोग पुग्नेछ,’ उपप्रमुख चित्रकारले भने, ‘करिडोर खोल्न अहिलेसम्म १५ अर्बभन्दा धेरै खर्च भइसकेको छ ।’ 
 
करिडोर सञ्चालनपछि उपत्यकाको ट्राफिक समस्यामा महत्वपूर्ण सुधार आउने समितिको विश्वास छ ।
 
६३ प्रतिशत काम सकियो
समितिका परियोजना उपप्रमुख योगेन्द्र चित्रकारले चालू आर्थिक वर्षभित्रै बागमती करिडोर निर्माण पूरा हुने जानकारी दिए ।
 
 ‘करिडोर निर्माणको ६३ प्रतिशत काम सम्पन्न भएको छ । अब करिब ३७ प्रतिशत काम बाँकी छ । चालू आर्थिक वर्षभित्र सक्ने ठेक्का सम्झौता छ,’ उनले भने, ‘अबको सात महिनाभित्र सडक निर्माणको सबै काम सकिनेछ ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ