arrow

भारतबाट ल्याइएको विद्युत् सोझै काठमाडौँमा

हेटौँडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन सञ्चालन

logo
रमेश लम्साल,
प्रकाशित २०७३ पुष १८ सोमबार
bijuli-@@.jpg.jpeg

काठमाडौं । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटौ‌ंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने छ ।

आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन मङ्गलबार चार्ज गरिने जानकारी दिए ।

विसं २०६८ बाट सुरु भएको सो प्रसारण लाइन मुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारण लाइनले दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारण लाइन विस्तारमा समस्या पर्दै आएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तार कार्य रोकिएको थियो ।

‘‘मङ्गलबार हामी प्रसारण लाइन चार्ज गर्दै छौँ, अब भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने विश्वास लिएका छौँ” – आयोजना प्रमुख सिल्वालले भने । प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको आयोजना प्रमुख सिल्वालको भनाइ छ ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

प्रसारण लाइनको दायाँ बायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिल्वालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास लिए ।

उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवका अनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती, लामोसाँघु हुँदै काठमाडौँमा विद्युत् ल्याउने यो अर्को प्रसारण लाइन हो ।

विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारण लाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारण लाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।

यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारण लाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ । यस्तै ढल्केबरमा निर्माणको क्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । हिउँदलाई मध्यनजर गरेर काठमाडौँमा सहज रुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ