arrow

हिमाली बस्तीमा बाक्लो हिमपात भो

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
Himpat-ne-w.jpeg

सोलुखुम्बु । शनिबार साँझबाट हिमपात सुरु भएको सोलुखुम्बुको हिमाली बस्तीमा सोमबार बाक्लो हिमपात भएको छ । आइतबार पनि डाँडापाखा सेताम्मे हुने गरी हिमपात भएको थियो । बस्तीमै एकदेखि दुई फिटसम्म हिउँ जमेको खुम्जुङ–४ का ङातेम्बा शेर्पाले बताए ।

खुम्बु क्षेत्रमा रहेका नाम्चे, खुम्जुङ र चौँरीखर्कका अधिकांश बस्तीमा बिहानबाट वर्षासँगै परेको हिउँले सेताम्मे भएका छन्, भने जिल्लाको सदरमुकाम सल्लेरीमा पनि हिमपात भएको छ । दूधकुण्ड नगरपालिकाको विभिन्न डाँडाकाँडा साथै जिल्लाको हिमाली बस्तीमा पर्ने १६ भन्दा बढी गाविसका डाँडापाखा हिउँले ढाकिएका छन् ।

हिउँ परेसँगै सदरमुकाम सल्लेरीको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । उता नाम्चेको तापक्रम भने माइनस छ डिग्रीभन्दा पनि तल झरेको इलाका प्रहरी कार्यालय, नाम्चेले जनाएको छ ।

हिमपातसँगै अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोका कारण सदरमुकाम सल्लेरीलगायत हिमाली बस्तीका बासिन्दा अहिले घर बाहिर निस्कन सकेका छैनन् ।

यसैबीच सोलुखुम्बुमा तीन महिनापछि पानी पर्दा कृषक भने खुसी भएका छन् । असोज दोस्रो सातापछि हालसम्म पानी परेको छैन् । “हाम्रो त गहुँ, जौलगायतका हिउँदे बाली सुक्न लागेको थियो, पानी पर्दा अति खुसी भएका छौँ” – वाकुका कृषक कुवीर राईले भने ।

यस्तै अलैँचीको पकेट क्षेत्रका रुपमा चिनिएका चौलाखर्कका अलैँची कृषक हेमन्त बस्नेतले पनि सिँचाइ सुविधा कम भएको स्थानमा सुक्न लागेको अलैँचीका लागि यो पानी फाइदाजनक हुने बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ