arrow

पेट्रोल पम्पमा चोरी गर्न खोज्दा झडप, दुई गम्भीर

चार घण्टा राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
chori.jpeg
विराटनगर÷इटहरी । मोरङको सुन्दरदुलारी नगरपालिका ११ मा रहेको एक पेट्रोल पम्पमा चोरी गर्न पुगेका युवा र गाउँलेबीच आइतबार राति दोहोरो झडप भएको छ । झडपमा परेर घाइते भएका एक स्थानीय र चोरी गर्न आएका अर्का युवाको अवस्था गम्भीर छ ।
 
कृष्ण आयल ट्रेडर्स राति १२ बजे रिक्सा चढेर चोरी गर्न आएका दुईजना युवा र गाउँलेबीच झडप भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए । ती युवाले पम्प काउन्टरको झ्यालमा लगाएको ग्रिल तोडफोड गर्न थालेको थाहा पाएर पम्पका कर्मचारी पुष्प सिग्देलले होहल्ला गरेका थिए ।
 
लगत्तै भेला भएका गाउँलेले नियन्त्रणमा लिन खोजेपछि ती युवासँग दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडपमा सुन्दरदुलारी ६ का ५७ वर्षीय धनबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । 
 
न्युरो अस्पताल विराटनगर ल्याइएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको छ ।
 
भेन्टिलेटरमा राखेर उपचार थालिए पनि गुरुङको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए ।
 
प्रहरीका अनुसार झडप हुन थालेपछि दुईजनामध्ये एक युवक फरार भएका थिए । अर्का एकजनाले चिरान गरिएको काठले टाउकोमा हान्दा गुरुङ गम्भीर घाइते भएका हुन् ।
 
नियन्त्रणमा लिएर गाउँलेले कुटपिट गर्दा युवक पनि घाइते भएका छन् । प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ । 
 
गाउँलेको कुटाइबाट घाइते भएका उनको अनुहार र शरीरभरि चोट र नीलडाम छ । उनी झापा जलथल ८ का २४ वर्षीय भूपेन्द्र गिरी भएको प्रारम्भिक जानकारी आए पनि यकिन भइनसकेको प्रनि थापाले बताए ।
 
 ‘रातको समयमा पम्पको काउन्टरमा रहेको झ्यालको ग्रिल तोडफोड गर्नु भनेको चोरी गर्नकै लागि हो भन्ने प्रष्ट हुन्छ, उनले भने, ‘घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’
 
घटनालगत्तै फरार भएका युवकको पनि खोजी थालिएको उनले बताए । थापाका अनुसार उनीहरू चढेर आएको रिक्सा र युवकले स्थानीयलाई प्रहार गरेको चिरान काठ प्रहरीले घटनास्थलबाट बरामद गरेको छ । 
 
इटहरी उपमहनगरपालिका १ का ज्योति प्रसाईंको नाममा ती युवाले चढेर आएको १७५६ नम्बरको रिक्सा दर्ता रहेको प्रहरीले जनाएको छ ।
 
‘तेल आउनुपर्ने भएकाले झुलसमेत नटाँगी सुतेको थिएँ,ु कर्मचारी सिग्देलले भने, ‘पल्ला खुलेको आवाजले ब्युझँदा झ्यालको ग्रिल निकालिसकेको देखें ।’ त्यसलगत्तै देखिएका दुई युवकले काठ तेस्र्याएर पैसा दिन्छस् कि मारिदिउँ भनेर धम्क्याउन थालेपछि होहल्ला गरेर गाउँलेलाई बोलाएको उनले बताए ।
 
‘गाउँले भेला भएपछि उनीहरूलाई लखेट्यौं तर एकजना भागेकाले एकजनालाई मात्रै नियन्त्रणमा लिन सक्यौं । 
 
नियन्त्रणमा लिएकालाई स्थानीय बासिन्दाले कुटपिटसमेत गरे,’ सिग्देलले भने, ‘नियन्त्रणमा लिएका युवकले टाउकोमा चिरान काठले प्रहार गर्दा श्रीमतीसहित आएका गुरुङ दाइ भुइँमा ढल्नुभयो । श्रीमती भागेर जोगिनु भएछ ।’
 
यसैबीच घटनाको विरोधमा स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरदुलारी खण्ड चार घन्टा अवरुद्ध पारे । प्रहरीले आफूहरूलाई हप्काएपछि राजमार्ग अवरुद्ध पारिएको स्थानीयको भनाइ छ । 
 
सडकमा टायर बालेर बिहान ९ बजेदेखि अवरुद्ध पारिएको राजमार्ग दिउँसो १ बजेबाट खुलेको थियो ।
 
राजमार्ग अवरुद्ध पारिएपछि गन्तव्यसम्म जान नपाएका सयौं सवारीसाधनको लाम राजमार्गका दुवैतर्फ लागेको थियो । 
 
सुन्दरदुलारीको बाँसबारी र बलियामा प्रहरीचौकी स्थापना गर्ने र घाइतेको उपचार खर्च राज्यले बेहोर्ने विषयमा पहल गर्ने सहमति भएपछि स्थानीय बासिन्दा राजमार्ग खुलाउन सहमत भएको प्रहरी निरीक्षक थापाले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ