arrow

अब राहदानी फाराम मोबाइलबाटै

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
nepali-passport.jpeg
काठमाडौँ। नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । 
 
चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । 
 
सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको मंगलबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरे। 
 
राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । राहदानी लिन चाहनेले ती दस्ताबेजबाहेक अन्य सबै काम एप्सबाटै गर्न र हेर्न सक्नेछन् । राहदानीका निम्ति प्रत्यक्ष दर्ता प्रणालीमा जानुपूर्व सेवाग्राहीले त्यसो गर्नुपर्नेछ । 
 
एप्स प्रणालीको उपयोग गर्दा कम्प्युटरबाटमात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने छ भने रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् । 
 
उक्त बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जानसक्नेछन् । पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ । 
 
सेवाग्राहीले आफ्नो मोबाइलमा एप्स डाउनलोड गर्न सक्नेछन् । त्यस अवसरमा मन्त्री महतले अत्याधुनिक प्रविधिको उपयोग गरी सेवाग्राहीलाई सरल एवम् सहज ढङ्गले द्रूतगतिमा सेवा प्रवाह गर्न सरकार क्रियाशील रहेको बताउँदै एप्सको सुरुवात पनि त्यसैको परिणाम हो भने । 
 
सबै सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरुन र त्यसको अनुशरण होस् भन्ने परराष्ट्र मन्त्रालयको चाहना रहेको उनले बताए । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जनमुखी सेवालाई मन्त्रालयले जोड दिएको बताउँदै भविष्यमा एप्स सेवालाई देशभर लागू गर्ने योजना सुनाए । 
 
विभागका महानिर्देशक सुशीलकुमार लम्सालले आफ्नो सेवा प्रवाहमा निरन्तर सुधारको प्रयास स्वरुप विभागले एप्स सेवा सुरु गरेको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ