www.deltrox.com
नयाँ
कुरा

ओलीको जिल्ला पुगेर प्रचण्डले जाेते ट्राक्टर, रोपाइँमा विपक्षीको पनि साथ

‘सुपर जोन’ कार्यक्रम फगत औपचारिकताका लागि होइन

प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार, ४५२७ पटक हेरिएको

तस्वीर : सीएमप्रचण्ड डटकम

झापा । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा पुगेर रोपाइँ गरेका छन् । प्रधानमन्त्री दाहालले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोनको उद्घाटन गरेका हुन् । कृषिलाई आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘केही वर्ष अघिसम्म हामी अन्नबालीमा आत्मनिर्भर थियौं । नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, पढायौं । तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ, बदल्नेछ । जमिनको चक्लाबन्दी, कृषिको आधुनिकीकरण, विविधिकरण, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य हो । फगत औपचारिकताका लागि होइन, कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न विशेष अपील गर्न चाहन्छु । यो कार्यक्रमले कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले थपे, ‘यस वर्ष धानमा उत्पादन बढेको छ । तर, उत्पादकत्व वृद्धिमा हाम्रो योजनावद्ध प्रयास भन्दा पनि मौसमी अनुकूलता मूख्य रुपमा जिम्मेवार छ । यसरी सधै चल्दैन, हामीले योजनावद्ध रुपमा विकास गर्न सक्नुपर्छ । यसका लागि हाम्रो संकल्प जरुरी छ ।’
समसामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले दाहालले भने, ‘हामी सत्ता पक्ष र प्रतिपक्षी मिलेर यहाँ आएका छौं । राजनीतिक सहमतिको माध्यमबाट अघि बढ्न यसले प्रेरणा दिन्छ, दिनुपर्छ । सरकार संविधान संशोधनमार्फत् संविधान कार्यान्वयनको बाटो खोल्न चाहन्छ । अब संसद खोलेर निर्वाचनमा जानुपर्छ । राम्रोलाई राम्रो भन्ने संस्कारको विकास गर्न सक्यौं भने देशले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटो लिन्छ, हामी सबैले त्यसैका लागि साझा संकल्प गरौं ।’

प्रधानमन्त्री दाहालले आधुनिक ट्राक्टरमार्फत धान रोपेर कार्यक्रमको सुभारम्भ गरे  गरे । कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरी, पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, एमाले प्रमुख सचेतक भानुभक्त ढकाल लगायतका वक्ताहरुले कृषिको प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण र व्यवसायिकरण आवश्यक रहेको बताए ।

१ नम्बर प्रदेशको झापाका पृथ्वीनगर, केचना, बालुबारी, पथरिया, बनियानी र पाठमारी गाविसको हजार हेक्टर क्षेत्रमा आधुनिक तरिकाले धान खेती गरिने, स्थानीय बालीको आधुनिक उप्पादनमा सहयोग गर्ने, धान उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको तथा सुपर जोन कार्यक्रमले धानमा आत्मनिर्भरताका लागि महत्वपूर्ण योगदान गर्ने कृषि विकास मन्त्रालयका सचिव सुरोज पोखरेलले बताए ।

सम्बन्धित समाचार

Scroll To Top