arrow

बाबुको मृत्यु र आमाको दोश्रो बिहेपछि बालकहरुको बिचल्ली

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष २० बुधबार
balak-bichhali.jpeg
लिबाङ (रोल्पा) । बाबुको मृत्यु र आमाको दोश्रो बिहेपछि रोल्पाको धबाङमा तीन नाबालकले कष्टकर जीवन बिताउन बाध्य भएका छन् । छोराछोरी श्रीमती र बृद्ध आमा बाबुको सपना साकार पार्ने लक्ष्य बोकेर बैदेशिक रोजगारीका लागि कतार पुगेका धबाङ ८ रोल्पाका २६ वर्षिय लुकबहादुर वलीको केहीवर्ष पहिले  बिजुलीमा काम गर्ने क्रममा करेन्ट लागेर कतारमै मृत्युभएको थियो । 
 
यसरी श्रीमान्‌को मृत्युभएपछि दुधे बालक सहित तीन नावालकलाई बृद्ध सासुससुराको भरमा घरमै छोडेर उनकी श्रीमती मिझिङ रोल्पामा दोश्रो बिबाह गरेर गएपछि तीन नावालकहरु कष्टकर जीवन जीउन बाध्य भएका हुन् । बाबुआमा दुबैले छोडेपछि जेठो १२ वर्षिय केशव वली, माइलो १० वर्षिय केशवीन वली र कान्छो ७ वर्षिय लेशन वली हाल ७५ वर्षिय बाजे रुपलाल वली र अशक्त एवम् अपांग भएकी ६० वर्षिय बज्यैको सहारामा धबाङ स्थित घरमा बस्दै आएका छन् ।  
 
“साँझ बिहान घरको काम गर्छौ । दिउसो स्कूल जान्छौं । आमा बा भए पो काम नगरे पनि पुग्थ्यो । बाजे बज्यै बुढो भइसक्नु भयो । बज्यैको एउटा हात र एउटा गोडा लाग्दैन । काकापनि कामको खोजीमा घर बाहिर हुनुहुन्छ काकी हामीसंग घरमै बस्नुहुन्छ हामीले काम नगरे कस्ले गर्छ ? ” माइला केशवीन वलीले भने । पढेर गाउँकै विद्यालयमा शिक्षक बन्ने सोंच राखेका ८ वर्षिय वलीले दाइलाई भन्दा  सानो भाइलाई बढी माया गर्ने बताए ।
 
चिसोका कारण चरचरी फुटेका हात गोडा, मैलो कपडा, पछाडितिर कपाल बाहिरै निस्कने गरी फाटेको टोपी अनिे पिठ्यूमा आफूभन्दा गह्रुंगो डोकोमा सुन्तला डुलाउँदै गाउँले आफन्तहरुको साथमा खुट्टामा धुलाम्य चप्पल पट्काउदै उनी  करिव २ घण्टालामो पैदल यात्रा गरेर  मंगलबार लिबाङ आइपुगेका थिए । 
कुनै बेला थियो । बाबु बैदेशिक रोजगारीमा र आमा घरमा हुँदा केशव र केशवीन सदरमुकामकै होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङ रोल्पामा क्रमशः एल्केजी र युकेजीमा अध्ययनरत रहेको तत्कालिन विद्यालयका प्रिन्सिपल ओम के.सीले जानकारी दिए ।
 
 उनका अनुसार ती बालकहरुले दुर्भाग्यलबस् बाबु गुमाएको भएपनि आमाले साथ दिएको भए अवसरबाट बञ्चित हुने थिएनन् । पढाइमा दुबै बालक निकै उत्कृष्ट थिए सानो दुध खादै थियो उनले बिगतका दिनहरुको स्मरण गर्दै भने । आमाले दोश्रो बिहे गरेपछि बाजे बज्यैले गाउँकै विद्यालयमा भर्ना गर्नका लागि दुबै नातिलाई यहाँबाट लगेका हुन् । तर यिनीहरु गाउँ फर्किसकेपछि हरेक अवसरबाट बञ्चितमा परेका छन् प्रिन्सिपल केसीले भने । शैक्षिक क्षेत्रको विकासका लागि कसैको साथ र सहयोग पाएमा यी बालकहरु भविष्यका कर्णधार बन्नसक्ने उनको बुझाइ छ । 
 
गाउँमा उब्जनी नहुने पाटाहरु भएपनि बाबुको मृत्युपछि बिमा बापत पाएको रकमले लिबाङमा परिवारले घर किनेको थियो । ती बालकहरुको लिबाङको घरमा बसेर लिबाङकै घरमा पढ्न थालेको थिए । आमाले दोश्रो बिबाह गरेर हिडेपछि बालकहरुको भविष्य थप अन्यौलमा पर्दै गएको जानकारहरु बताउछन् । 
बा भन्ने साइनो नै नबुझेका वलीलाई आमाको भने कहिलेकाँही झल्को लाग्छ रे । अरुबेला भन्दा दशै तिहारमा सबैका बाआमासंगै हुँदा आफ्नो बा आमा नहुँदा रुन मन लाग्छ  वलीले भने । 
 
वली परिवारका एक जना आफन्तले उनको नाम उल्लेख नगर्ने सर्तमा ती बालकहरुले निकै दुःख कष्टका साथ जीवन गुजार्दै आएको बताए । बा आमा छैनन् बाजे बज्यै बुढा छन् यीनको भविष्यका बारेमा तपाइ आफै सोच्नुस् न । यीनको के हाल छ भन्ने कुरा । उनका अनुसार हाल ती बालकहरु गाउँकै श्री जनता आधारभूत विद्यालय भनभने रोल्पामा क्रमशः कक्षा ३, कक्षा ५ र कक्षा ६ कक्षामा अध्ययनरत छन् । तरपनि उनीहरु नियमित रुपमा विद्याल जाँदैनन् । गएपनि समयमा पुगेका हुँदैनन् । उनीहको साथमा कहिले कापी हुँदैन, कहिले कलम, हुँदैन कहिले गृहकार्य गरेका हुँदैनन् । यी अबोध बालकहरुले  सानो उमेरमा अभिभावक गुमाउदा हरेक कुराबाट बञ्चित हुँदै आएका छन् । 
 
यस विषयमा नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी रोल्पाली युवाहरु कनै किसिमको सिप र क्षमता बिना नै उच्च जोखिम मोलेर बैदेशिक रोजगारीमा पसिना चुहाउन जाने गरेको बताउनुहुन्छ । यसरी साथीभाइको लहलहैमा कामको खोजीमा बिदेशीयका युवाहरु सानो कमाइको आशामा जीवन बर्बाद भइराखेको छ । उनीहरुको जीवनको कुनै ग्यारेन्टी नै छैन । गरिवीको रेखा मेटाउन बिदेश पुगेका परिवारका सदस्यहरु नै विक्षिप्त मन बोकेरे बाँच्नु पर्दा परिवारको समेत अवस्था अझ पीडादायी बन्ने गरेको छ । साथै यसरी अभिभावक गुमाउदा जिल्लाका ठूलो संख्याका बालबालिकाहरु यसको प्रत्यक्ष मारमा पर्ने गरेका छन् । 
 
यी तीन बालकहरु जिल्लाका प्रतिनिधि पात्रमात्र हुन् । जिल्ला बाल कल्याण समिति रोल्पाको तथ्यांक अनुसार जिल्लामा बाबु आमा दुबै नभएका वा पारिवारीक संरक्षण बिहिन अवस्थामा रहेका बालबालिकाहरु १ सय ८८ जना रहेका छन् । यसरी परिवारमा बयस्क ब्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका ४ बालक गरी १० जना, आफन्तको संरक्षणमा रहेका ८९ बालिका ८७ बालक गरी १ सय ७६ जना र कपिलबस्तु चितवन, काठमाण्डौं तथा बर्दिया जिल्लाका बाल गृहहरुमा रहदै आएका बालिका ८  र बालक ३ गरी जम्मा ११ जना गरी कुल १ सय ८८ जना बालबालिकाहरु संरक्षण बिहिन अवस्थामा रहेको जिल्ला बालकल्याण समिति रोल्पाका  बाल अधिकार अधिकृत गोर्णप्रसाद पुनले जानकारी दिए । 
 
केन्द्रिय तथ्यांक विभाग काठमाण्डौंको २०११ को तथ्यांक अनुसार जिल्लामा कूल बालबालिकाहरुको संख्या १ लाख १७ हजार ६ सय ७७ जना रहेको छ । जन्म देखि ४ वर्ष सम्मका २८ हजार ५ सय ३७ जना, ५ देखि ९ वर्ष उमेर समूहका ३१ हजार ९ सय ९६ जना, १० देखि १४ वर्ष उमेर समूहका ३२ हजार ९ सय ४० जना र १५ देखि १९ वर्ष उमेर समूहका २४ हजार २ सय ४ जना बालबालिकाहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ