arrow

‘संविधानको धारा २७४ खारेज गर्नुपर्छ’ ‘एमालेको वुद्धि विस्तारै आउँदैछ’ : ठाकुर

मोर्चाले अब संसदमा संशोधन हाल्ने

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
mahantha-new--rep.jpeg

काठमाडौं । संयुक्त लोकतान्त्रिक मोर्चाका शीर्ष नेता एवं तराई मधेस पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन् ।

विहिबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ठाकुरले भने, ‘आगामी २४ गते बस्ने संसद बैठकमा सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरोस्, हामी त्यसमाथि संशोधन प्रस्ताव राख्छौं, त्यसपछि संशोधन विद्येयकलाई परिमार्जनसहित पारित गर्नुपर्छ, काँग्रेस, एमाले र माओवादी केन्द्रलेपनि सहयोग गर्नुपर्छ ।’

संशोधन विद्येयक टेबुल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए । अध्यक्ष ठाकुरले संशोधन जसले जारी गरे उनीहरुले नै यो संशोधन त्रुटिपूर्ण छ भनेर स्वीकार गरिसकेको उल्लेख गर्दै भने,‘जसले यो संविधान जारी गरे, उनीहरुले नै त्यतिवेला यो त्रुटिपुर्ण छ भनेर बोलेको र यसलाई संशोधन गर्छौं  भनिसकेका छन्, यो भन्दा पहिलेपनि उनीहरुले दुई वटा विषयमा संशोधन गरिसके, फेरि पनि संशोधन गर्ने जिम्मा उनीहरुकै हो, यो संविधान त्रुटिपूर्ण र विभेदकारी छ ।’
अध्यक्ष ठाकुरले संविधानको धारा २७४ ले संविधान संशोधनलाई कुनै हालतमा नरोक्ने जिकिर गर्दै भने, ‘अहिलेको व्यवस्थापिका संसद संविधानसभाको रुपान्तरित रुप भएकाले संसदले नै सीमांकन संशोधन गर्नसक्छ ।’

ठाकुरले संविधानको धारा २७४ लाई खारेज गर्नुपर्ने बताउँदै भने, ‘धारा २७४ संघीय प्रणालीलाई नै रोक लगाउने खालको छ, त्यसैले यसलाई खारेज गर्नुपर्छ, यसले सात प्रदेशको बारेमा बोलेकाले यो धाराको आवश्यक छैन, यसको कुनै औचित्य छैन ।’ संक्रमणकालीन अवस्था भएर अहिले धारा २७४ निष्कृय भएको भन्दै उनले प्रदेश सभा गठनपछि यो सक्रिय हुने भएकाले औचित्य नभएको स्पष्ट पारे ।

हालै सर्वोच्च अदालतले दिएको आदेशसँग आफूहरुले राखेको मागको सरोकार नभएको समेत ठाकुरले जिकिर गरे। उनले संशोधन विद्येयक पारित गराउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले अघि भने,‘यो संशोधन विद्येयक पारित हुन्छ, यो प्रस्ताव त एमालेका नेताहरुले नै अघि सारेको प्रस्ताव हो, हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले नै हस्ताक्षर गरेको प्रस्ताव हो, त्यसैले यो प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन् ।’ उनले एमालेको वुद्धि विस्तारै–विस्तारै आउँदै गरेको बताउँदै भने,‘त्यसैले एमालेले पनि सहयोग गर्छ ।’

ज्ञापनपत्र बुझ्दै काँग्रेस सभापति शेरबहादुर देउवाले त यो संशोधन विद्येयक बिना परिमार्जन पारित हुने बताएका छन् नि भन्ने पत्रकारको एक प्रश्नमा उनले भने,‘शेरबहादुरजीले कोसँग कहाँ कतिखेर बोल्नुभयो, त्यो थाहा भएन, राति भन्नुभयो कि दिउँसो भन्नुभयो, तर हामीसँग एक दर्जनचोटि परिमार्जनसहित प्रस्ताव पारित हुन्छ भन्नुभएको छ ।’

नेता ठाकुरले स्थानीय तह पूर्नसंरचना आयोगले गरेको पूर्नसंरचनाको कामप्रति असन्तुष्टि पोखे। ठाकुरले भने,‘स्थानीय तहको पूर्नसंरचना गर्दा जनसंख्याको आधारमा गरिनुपर्छ, अहिले तराईमा ५१ प्रतिशत जनसंख्या छ, यो पूर्नसंरचना अनुसार मुस्किलले २५ प्रतिशतमात्रै तराईको प्रतिनिधित्व हुन्छ, त्यसैले पूर्नसंरचना गर्दा जनसंख्यालाई प्राथमिकता दिनुपर्छ।’

उनले मोर्चाका नेताहरुवीच कुनै विवाद नरहेको समेत दाबी गरे। उनले भने,‘हाम्रो विचमा कुनै विमति छैन, परिमार्जनसहित संशोधन विद्येयक पारित हुनुपर्छ भन्ने हामी सबैको धारणा, तपाईहरु कुन चस्माले हेर्नुहुन्छ थाहा भएन, तर हामी एक छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ