arrow

‘संविधानको कार्यान्वयन नै सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि’

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
Sushil-dada.jpg.jpeg

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयनले मात्र नेपाली काँग्रेसका दिवंगत पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

‘‘सुशील कोइराला मेमोरियल फाउण्डेसन’को शुभारम्भ कार्यक्रममा नेताहरुले संविधानसभाबाट संविधान जारी गर्न स्व कोइरालाले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै संविधानको कार्यान्वयन गर्न प्रमुख तीन दलबीच सहमतिको विकल्प नभएको औँल्याए ।

कार्यक्रममा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालाको समन्वयकारी भूमिकाका कारण नै अप्ठ्यारो परिस्थितिमा पनि संविधान जारी गर्न सफल भएको प्रसङ्ग उल्लेख गर्दै निर्धारित समयभित्रै संविधानले तोकेका तीनै तहको निर्वाचन गर्न सकिए मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

विपक्षी दलले सर्वोच्च अदालतको अपव्याख्या गरेका सम्बन्धमा स्पष्ट पार्दै सभापति देउवाले भने, “प्रदेशसभा नभएको अवस्थामा सीमाङ्कन हेरफेर गर्ने अधिकार अहिलेको व्यवस्थापिका–संसद्लाई छ ।” फरक प्रसङ्गमा देउवाले मधेसी जनता कुनै पनि हालतमा कम राष्ट्रवादी नभएको बताउँदै कुनै पनि दलले क्षेत्रीयतामा द्वन्द्व निम्त्याउने काम गर्न नहुनेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान जारी गर्न कोइरालाले खेलेको भूमिकाका कारण युग पुरुषका रुपमा मान्नुपर्ने बताउँदै संविधानको कार्यान्वयनका लागि प्रमुख तीन दलबीचको सहकार्य अपरिहार्य छ, भने ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै पक्षलाई सहमतिमा ल्याई वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख दल एक हुनुपर्ने बताउँदै संविधानको प्रभावकारी कार्यान्वयनले राजनीतिक प्रणालीको टुङ्गो लाग्ने र मुलुकमा स्थायित्व कायम हुने धारणा राखे ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधानप्रति देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न प्रमुख दलले दलीय र क्षेत्रीय स्वार्थमाथि उठेर बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताए ।

माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार मौलाएको नेपाली समाजमा स्व कोइरालाले अपनाएकोे सादगी र सरल जीवनशैली सबैका लागि अनुकरणीय भएको बताउँदै संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरी निर्वाचनमा जानुपर्ने धारणा राखे ।

कार्यक्रममा काँग्रेस महामन्त्री शशाङ्क कोइराला, काँग्रेस कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, काँग्रेस नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादव तथा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले लोकतन्त्रका लागि आजीवन संघर्षरत एवम् सादा जीवन उच्च विचारका धनी स्व कोइराला आउने पिँढीका लागि प्रेरणाका स्रोत भएको चर्चा गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ