arrow

प्रेरणाको अर्बको दाइजो सर्वोच्चद्वारा फिर्ता, व्यक्तिको नाममा गराउने प्रयास असफल

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
prenana.jpeg
काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ । सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ । 
 
पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की र सपना मल्लको संंयुक्त इजलासले दाइजोको जग्गा सरकारकै नाममा ल्याउने फैसला गरेको हो । 
 
तत्कालीन राजदरबारका नाममा रहेको जग्गा सरकारले नेपाल ट्रस्टका नाममा ल्याउने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए । 
 
सरकारले १ पुस ०६४ मा नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राख्ने निर्णय गरेको थियो ।
 
सरकारको निर्णयपछि प्रेरणाले कानुन अनुसार बाबुबाट दाइजो पाएको जिकिर गर्दै आफ्नै नाममा गरिदिन सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 
 
अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको प्रेरणाको जिकिर थियो ।
 
तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले ट्रस्टको नाममा गरिएको दर्ता खारेज गरी प्रेरणाकै नाममा दर्ता हुने परमादेश जारी गरेका थिए । 
 
प्ररेणाको दाबी 
काठमाडौ महानगरपालिका–१३ को कित्ता नम्बर २५ को करिब १५ रोपनी जग्गामाथि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी सिंहले दाबी गरेकी छन् ।
 
सिंहले २०६२ जेठ १० मा तत्कालीन राजा राजा ज्ञानेन्द्र शाहबाट दाइजो स्वरुप प्राप्त गरेको दाबी गरेकी छन् । 
 
उनले आफ्नो नामको जग्गा नेपाल ट्रष्टले हडपेको भन्दै आफ्नो नाममा कायम गराउन माग गर्दै २०७१ माघ २५ गते अदालतमा मुद्दासमेत दायर गरेकी थिइन् । 
 
तर, नेपाल टष्टले भने उक्त जग्गा २०६४ सालसम्म श्री ५ महाराजधिराजको नाममा रहेकोले स्वतः नेपाल टष्टमा आउने दाबी गर्दै २०६७ असोज ८ गतेको मन्त्रीपरिषद्को बैठकले जग्गा ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गरेको थियो । 
 
मालपोत कार्यालय कंलकीले २०६४ पुस ३ गते ट्रष्टलाई पत्र लेखी उक्त जग्गा श्री ५ महाराजधिराज नारायणहिटी राजदरबारको नाममा रहेको जानकारी दिएको थियो । 
 
ट्रष्टको दाबी यस्तो छ 
नेपाल ट्रष्ट ऐन २०६४ ले राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुदाको बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रष्ट अन्तर्गत ल्याउने भनी नेपाल सरकार,मन्त्रपरिषद्ले निर्णय गरेको सम्पत्ति राष्ट्रियकरण हुने उल्लेख गरेको छ । 
 
प्रेरणाले दाबी गरेको जग्गा श्री ५ महाराधिराज नारायणहिटी राजदरबारको नाममा छ । उक्त जग्गा उनका बाबु पूर्व राजा ज्ञानेन्द्र शाहमा नामसारी पनि भएको छैन । 
 
जोखिममा थियो पाँच हजार रोपनी
 ‘श्री ५ महाराजाधिराज’को नाममा लालपुर्जा रहेको जग्गा नै दाइजो सदर हुने सर्वोच्चको यसअघिको फैसलाले नेपाल ट्रस्टको नाममा आएको पाँच हजार ६४ रोपनी १३ आना जग्गा यसैगरी व्यक्तिका नाममा सर्दै जान सक्ने जोखिम बढेको थियो । 
 
ट्रस्टले वीरेन्द्र र उनका परिवारका नाममा काठमाडौं, भक्तपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की र सुर्खेतमा रहेको जग्गा आफ्नो नाममा ल्याइसकेको छ । 
 
ट्रस्टले पोखराको दियालो बंगाला, रत्न मन्दिर, मकवानपुरको हेटौँडा दरबार र काठमाडौंको गोकर्ण रिसोर्ट पनि आफ्नो नाममा ल्याएको छ । 
 
तर, यीमध्ये कुनै जग्गा ज्ञानेन्द्रले आफूलाई दिएका हुन् भन्ने कागज कसैले ल्याएमा प्रेरणाको दाइजोजस्तै सदर हुने अवस्था थियो । 
 
सम्पत्तिसँग जोडिएका सात मिति 
वीरेन्द्र राजा हुँदा छाउनीको महलसहितको १५ रोपनी जग्गा र घरको पुर्जामा ‘श्री ५ महाराजाधिराज’ लेखिएको थियो । 
 
वीरेन्द्रको वंश नासपछि राजा भएका ज्ञानेन्द्रले छोरी प्रेरणाको बिहे गरिदिए । र, छाउनीको घरजग्गामा प्रेरणा आफ्ना पति राजबहादुर सिंहसहित बस्न थालिन् । 
 
देशको संवैधानिक राजा मात्र होइन, शासनशक्ति नै हातमा लिएको वेला ज्ञानेन्द्रले छाउनीको सम्पत्तिको हक छोरीलाई दिए । 
 
तर, लालपुर्जा फेरि पनि ‘श्री ५ महाराजाधिराज’कै नाममा थियो । गणतन्त्र स्थापनासँगै वीरेन्द्रको सम्पत्ति स्वतः राष्ट्रियकरण गर्ने व्यवस्थाअनुसार सरकारले प्रेरणाले भोगचलन गरिरहेको सो सम्पत्ति पनि नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय गर्‍यो । 
 
सम्पत्ति नेपाल सरकारमा आइसकेको सात वर्षपछि प्रेरणा सर्वोच्च पुगिन् र आफू ले बाबुबाट दाइजो पाएको सम्पत्ति फिर्ता गरिपाऊँ भनी रिट हालिन् । 
 
तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले प्रेरणाले कानुनअनुसार नै दाइजो पाएकाले सो सम्पत्ति राष्ट्रियकरण गर्न नसकिने फैसला दियो । 
 
तर, नेपाल ट्रस्टले पुनरावेदन गरेपछि वर्तमान प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपक कार्की र सपना मल्लको इजलासले प्रेरणाको सम्पत्ति फेरि राष्ट्रको नाममा फिर्ता गरेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ