arrow

१५ करोडको ३३ किलो सुन बरामदले विमानस्थल सुरक्षामा शंका

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
gold.jpeg
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा छल्दै सुन तस्करहरूले बाहिर ल्याएको झन्डै १५ करोड मूल्य बराबरको ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पिङ्गलास्थान र विमानस्थलपछाडिको गोठाटारको ओरालोबाट दुईवटा गाडीमा रहेको झन्डै ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।
 
व्युरोकी प्रहरी उपरीक्षक मीरा चौधरीले झन्डै १५ करोड मूल्य बराबरको सुन बरामद भएको बताइन् । ‘तौलिएपछि मात्र वास्तविक मूल्य थाहा हुन्छ, शुक्रबार तौलिन्छौं’, उनले भनिन् ।
 
विमानस्थलबाट संगठित रूपमा सुन तस्कर भइरहेको र प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेका बेला ब्युराको अप्रेसनमा ठूलो परिमाणको सुन बरामद भएको हो ।
 
विमानस्थल प्रहरी र भन्सार कार्यालयको सुरक्षा जाँचका बीच ठूलो परिमाणमा विमानस्थलबाट सुन बाहिरिनुले सम्बन्धित विभागलाई समेत विवादमा तानेको छ ।
 
त्यहाँका प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि ठूलो नैतिक प्रश्न उब्जाएको छ ।
विमानस्थलबाट सुन बाहिरिनुले सुन तस्करहरूले कसरी एक्सरे, प्रहरी र भन्सार छल्न सके भन्ने गम्भीर प्रश्न उठेको छ ।
 
प्रहरीले केही दिनअघि कलंकीबाट सात किलो र रसुवाबाट पाँच किलो सुन बरामद गरेको थियो । 
 
ब्युरोले तीन वर्षअघि कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । त्यसपछि ब्युरोको यो दोस्रो ठूलो परिमाण हो ।
 
एसपी चौधरी नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुबईमा बस्दै आएका नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिलबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्ले छन् ।
 
ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले विमानस्थलबाट संगठित रूपमा सुन तस्कर भइरहेको थाहा भएपछि अप्रेसन गरिएको बताए ।
 
‘यो घटनापछि सुन तस्करीमा कमी आउने ठानेको छु’, डीआईजी सिलवालले भने, ‘संगठित गिरोह नै सक्रिय भएको हुन सक्छ । अनुसन्धानपछि यसको कनेक्सन खुल्छ । सुन बरामद गर्न कोही पनि सुराकी छैनन् । ब्युरोकै प्रयासले तस्कर पक्राउ परेका हुन् ।’
 
विदेशबाट प्राप्त ुभरपर्दोु सूचनाका कारण यो अपरेसन सफल भएको प्रहरीले बताएको छ ।प्रहरी हिरासतमा रहेका नेपागन्जका शाहीले दुबईमा एक भारतीय नागरिकले सुटकेस लैजान भनेको र उनले भनेबमोजिम आफूले सुन ल्याइदिएको बताए । 
 
शाहीले आफूले सुन ल्याए पनि नेपालका सुन धनी को हुन् भन्ने विषयमा आफूलाई थाहा नभएको बताए ।
 
गौशाला प्रहरी वृत्तका डीएसपी नवराज कार्कीको कार्यकक्षमा सञ्चारकर्मीको रोहबरमा ब्युरोका प्रहरीले दुईवटा सुटकेस खोलेका थिए ।
 
प्रहरीले सुटकेसमा फलामको लाम्चो आकारको भाँडाभित्र दुई सय ८२ थान सुनका बिस्कुट, २० थान सिक्री आकारका माला र १९ थान औंठी निकालेको थियो । 
 
शाही बुधबार बेलुकी दुबईबाट एयर अरेबियाको विमानमा दुईवटा सुटकेससहित काठमाडौं उत्रिएका थिए । 
 
उनी सुटकेस विमानस्थलमै छाडेर कोटेश्वर साथीकोमा बस्न गएका थिए । शाही बिहीबार थापा र काफ्लेसहित सामान बुझ्न विमानस्थल पुगेका थिए ।
 
विमानस्थलबाट संगठित रूपमा सुन आइरहेको भन्ने बलियो सूचनाका आधारमा एसपी चौधरी नेतृत्वको प्रहरी टोली बुधबार साँझदेखि विमानस्थलमा सक्रिय थियो ।
 
शाही विमानस्थलभित्रबाट सामान लिएर बाहिर आई बा २ ज २९१५ नम्बरको ट्याक्सीमा विमानस्थलको मुख्य गेटबाट निस्किए । 
 
उनलाई सीआईबी टोलीले ुफलोु गरिरहेको थियो । ट्याक्सी पिङ्गलास्थानबाट श्लेषमान्तक जंगलको कच्ची बाटोतर्फ मोडिएपछि शाही सुटकेससहित पक्राउ परे ।
 
शाहीले ढिला गरेपछि थापा र काफ्लेले फोन गरी आफू कुरिरहको स्थानबारे शाहीलाई जानकारी दिएका थिए ।
 
त्यही वार्ताका आधारमा प्रहरीले थापा र काफ्ले रहेको बा ४ च ९११४ नम्बरको निजी कारलाई सुनसहित नियन्त्रण लिएको थियो गोठाटारमा । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ