arrow

ट्रकले बालक किचेको घटना उग्र, ट्रकमा आगजनी, स्थानीय र प्रहरीबीचको झडपमा केही प्रहरी घाइते

logo
प्रकाशित २०७३ पुष २२ शुक्रबार
accident-final.jpeg
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ मा बिहीबार दिउँसो मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । 
 
ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा–९ का लक्ष्मण रामको छोरा अर्जुनकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 
 
यसैबीच, घटनाको विरोधमा स्थानीवासीले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगोसमेत लगाएका छन् तर ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । 
 
सोही क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । 
 
सो झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न १० राउण्ड अश्रुग्यास समेत गरेको छ । 
 
यता स्थानीयले फ्यालेको ढुङ्गाबाट केही प्रहरी घाइते भएको स्थानीयले बताएका छन् । झडपका कारण करिब तीन घन्टा राजमार्ग अवरुद्ध समेत भएको थियो । 
 
यता प्रहरीले बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याएको छ । 
 
ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ