arrow

विमानस्थल सुनिश्चित, हवाई रुट अनिश्चित

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
plane-air.jpeg
काठमाडौं। बुद्ध एयरले चार वर्ष अगाडि पोखराबाट भारतको दिल्ली र लखनउसम्म सीधा उडान तयारी थालेको थियो । पोखराबाट दिल्ली जान एक घन्टा ४५ मिनेट लाग्ने भए पनि फर्कंदा भैरहवाबाट सीधै प्रवेश गर्न नपाउँदा ३३ मिनेट समय बढी लाग्ने भयो ।
 
नेपाल प्रवेश गर्ने एउटै मात्र बिन्दु सिमरा हुँदै आउनुपर्ने हुँदा उडान दूरी र खर्च दुवैले समस्या भयो । पोखरा आउन भारतको अप्पी हुँदै भैरहवा आउने हवाई रुट नपाएपछि खर्च धान्न नसक्ने निष्कर्ष निकाल्दै बुद्धले पोखराबाट भारतको दिल्ली उडानको समय तालिका नै तय गरेर पनि उडान कार्यक्रम रद्द गर्‍यो । भारत र अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा पोखरा जानआउन अहिले पनि सिमराबाट काठमाडौं हुँदै पोखराको हवाई रुट प्रयोग गर्नुपर्ने वाध्यता छ ।
 
भैरहवामा विमानस्थल निर्माणको २६ प्रतिशत काम सकिएको छ भने पोखारामा पनि धमाधम निर्माण प्रक्रिया अगाडि बढको छ । तर, यी दुवै विमानस्थलका लागि अत्यावश्यक जनकपुर, भैरहवा र नेपालगन्जको हवाई रुटका विषयमा भने अहिलेसम्म कुनै टुंगो लागेको छैन ।
यी दुवै विमानस्थलको रूट तय नै नभइ निर्माण भइरहेको छ । यसले गर्दा विमानस्थल निर्माणपछि सञ्चालन गर्न समस्या हुनसक्ने एक निजी वायुसेवा कम्पनीका उच्च अधिकारीले जानकारी दिए ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि मण्डलले गत साता हवाई रुटका विषयमा भारतसँग दुई दिन छलफल गरेको थियो । यो बैठकपछि भारतले नेपाललाई महेन्द्रनगर र जनकपुरको हवाई रुट दिने सहमति जनाएको छ । नेपालले मागेको भैरहवा र नेपालगन्ज रुटका विषयमा भने छलफल नै हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ ।
 
‘भैरहवाबाट प्रवेश बिन्दु माग्दा गौतमबुद्ध विमानस्थल नजिक सीमापारी गोरखपुर आर्मी ब्यारेक र नेपालगन्ज नजिक बरौनी आर्मी क्याम्प रहेको भन्दै भारतले नेपालका हवाई रुटको अनुमति दिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘भारतीय सेनाको क्याम्प छ । भातरतले आफ्नै लागि त ५÷७ नटिकल माइल टाढाबाट उडान गर्छ । नेपाललको लागि हवाई रुट दिने विषयमा सोच्नै नसक्ने जवाफ आयो ।'
पर्यटन मन्त्रालयका अनुसार जबसम्म भैरहवा र नेपालगन्ज प्रवेश गर्ने हवाई रुट पाइँदैन तबसम्म भैरहवा, पोखरा र निजगढ विमानस्थल सञ्चालन सहज हुँदैन । विमानस्थल बनाएर मात्रै हुँदैन सहज सञ्चालन गर्ने हवाई रुट पनि हुनुपर्ने प्राधिकरणकै अधिकारीको बुझाइ छ । हाल नेपालका लागि सिमराको बाटो भएर मात्रै दुईतर्फी हवाई रुट प्रयोग भइरहेको छ । प्राधिकरणका अनुसार निर्माणाधीन अन्तर्राष्ट्रिय विमास्थल निश्चित भइसकेका छन् तर हवाई रुट भने अनिश्चित छ ।
 
नेपाल प्रवेश गर्ने पूर्व र दक्षिणपूर्व सिमरा मात्रैको हवाई रुट हो भने भुटानका लागि मात्रै मेचीरुट दुईतर्फी छ । चीनको ल्हासा र चेन्दुका लागि पनि नेपाली र चिनियाँ जहाजलाई मात्रै संखुवासभाको नोनेम भन्ने हवाई रुट रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार नेपालबाट बाहिर निस्कन मात्रै पश्चिमतर्फ महेन्द्रनगर र भैरहवा छ । बनारस र मुम्मे जान सिमारा छ भने पूर्व जाने जनकपुर र विराटनगर रुट छ । भैरहवाबाट निस्कँदा भने २८ हजार फिटभन्दा माथिको रुट मात्रै प्रयोग गर्न पाइन्छ । नेपाल प्रवेशमा यो रुट भारतले अनुमति दिएको छैन ।
 
गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार भैरहवामा विमानस्थल निर्माणले गति लिएको छ । सन् २०१७ डिसेम्बरभित्रै सकिने गरी काम भइरहेको भए पनि गत वर्षको नाकाबन्दी र भूकम्पका कारण एक सय ६७ दिन पर धकेलिने भएको छ । ढिलोमा आगामी सन् २०१८ को जुनसम्मका भैरहवा विमानस्थल पूर्णक्षमतामा सञ्चालनमा आउने गरी काम भइरहको उनको भनाइ छ ।
 
हाल कच्ची धावनमार्ग निर्माण भैसकेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) टावर, फायर फाइटिङ र इलेक्ट्रिक सवस्टेसन निर्माण चरणमा छन् । यो विमानस्थल निर्माणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा प्रयोग हुने गरी तयार हुने शर्माको भनाइ छ ।
 
भैरहवा विमानस्थलबाट जम्मा तीन किलोमिटरको दुरीमा नै बोर्डर क्षेत्र पर्ने र जहाज उडान तथा अवतरण गर्दा भारतीय भूमि प्रयोग हुने भएकाले नेपाल-भारतबीच दुईपक्षीय सम्झौता हुनैपर्ने प्राधिकरणको भनाइ छ । भैरहवाबाट उडान गर्दा जहाजले पूर्णसर्कल लगाउँदा भारतीय भूमिसम्म पुग्छ । आधा सर्कल मात्रै लिएर उडान अवतरण गर्नु व्यवहारिक हुँदैन । त्यसैले पनि दुई देशबीचको सम्झौता आवश्यक पर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक म्यानेजमेन्ट विभागका निर्देशक दीपक बरालका अनुसार हरेक विमानस्थलका लागि हवाई रुटको प्रवेश बिन्दुको आफ्नै विशेषता हुने बताए । उनका अनुसार भैरहवा विमानस्थलका लागि यहीँ क्षेत्रकै प्रवेश बिन्दु उपयुक्त छ । भैरहवाका लागि महेन्द्रनगर, विराटनगर, नेपालगन्ज रुट चाहिन्छ ।
 
उनका अनुसार भैरहवा विमानस्थलको उडान तथा अवतरणको प्राथमिक क्षेत्रभित्रै भारतीय भूमि पर्छ । त्यसैले पनि आगामी सन् २०१७ को फेब्रुअरीमा हुने बैठकले भैरहवा र नेपालगन्ज प्रवेश बिन्दुसहितको विषयलाई तय गर्ने बरालको भनाइ छ ।
 
उनका अनुसार पश्चिमबाट आउने जहाजका लागि भैरहवा र नेपालगन्ज हवाई रुट उपयुक्त हुन्छ भने पूर्वबाट आउने जहाजका लागि जनकपुर र सिमराको रुट उपयुक्त हुन्छ । भारतले पूर्वबाट आउने जहाजका लागि जनकपुर र सिमराको रुट प्रयोग गर्न दिने सहमति गरेको भए पनि पश्चिमबाट उडान गर्ने तथा पोखरा, भैरहवा र निजगढ विमानस्थलका लागि आवश्यक रुट तय नभएको पर्यटन मन्त्रालयको भनाइ छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार भारतले सिमरा हुँदै आउने हवाई रुट, तथा नेपाललाई अन्तर्राष्ट्रिय हवाई सञ्जाल जोड्न सकिने हिमालयन रुट २ (बागडोग्रा-गुहाटी, सिलचर र इम्फाल) सम्मको रुट प्रयोग गर्र्न सहमति दिएको छ । हिमालयन रुट २ का लागि अब बर्मा र चीनले सहमति दिनुपर्ने उल्लेख छ । नेपाली पक्षलले मागेको हवाई रुट भैरहवा र नेपालन्जका विषयमा सकारात्मक सहमति आए पनि कुनै सम्झौता हुन नसकेको उनले स्वीकार गरे ।(अन्नपूर्ण पोष्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ