arrow

बाग्मतीमा फोहरफाल्ने पक्राउ, २० हजार जरिवाना

स्वास्थ्यमन्त्री थापा पनि रुद्रमतीमा छिरे

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
bagmaticleaning.jpg.jpeg

काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा शनिबार तिलगङ्गास्थित बाग्मती किनारमा फोहरफाल्ने चार पसल र एक होटल गरी पाँच कारबाहीमा परेका छन् । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही पाँच हजारका दरले २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताए ।

“फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशङ्कर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ”–उनले भने ।

फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले पाँच हजारदेखि एक लाख ५० हजारसम्म जरिवाना र ५ महिना जेलमा राख्न पाउने व्यवस्था छ । प्रत्येक शनिबार झैँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको बताइएको छ ।  बाग्मती सफाइको एक सय ९१ औँ हप्तामा शनिबार तिलगङ्गा क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

स्वतः स्फूर्तरुपमा सफाइमा सरिक भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाई र अर्को समूहले तिलगङ्गा क्षेत्रका घर–घरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए ।

तिलगङ्गा क्षेत्रका घर दैलोमा गई नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिकपर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले बताए ।

रुद्रमती सफाई १५० औँ हप्तामा
रुद्रमती सफाइको १५० औँ हप्तामा शनिबार बूढानीलकण्ठदेखि बुद्धनगरसम्म १० स्थानमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले बूढानीलकण्ठ मन्दिर परिसरमा विशेष कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताए । यो अभियानमा आफ्नो पनि साथ र सहयोग रहने उनको भनाई छ ।

सफाइ अभियान सुरु हुनुअघि योग शिक्षकद्वय राजु अधिकारी र किशोर साहीले योग प्रशिक्षण दिए । सफाइमा मुख्यसचिव  सोमलाल सुवेदी, पूर्व सचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गरे ।

रुद्रमतीका १० स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालय लगायतको सक्रियता थियो ।

विष्णुमती सफाइको १२४ औँ हप्ताका अभियन्ता पनि शनिबार रुद्रमतीमै केन्द्रित भएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए । बूढानीलकण्ठस्थित विष्णुमती मुहानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उनले बबताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ