arrow

सहमति, सहकार्य र एकतालाई भुल्दा देशमा समस्या : नेतृ कोइराला

logo
प्रकाशित २०७३ पुष २३ शनिबार
Sujata-1.jpeg
काठमाडौं ।  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सहमति, सहकार्य र एकताको भावनालाई भुल्दा देशमा राजनीतिक संकट बढिरहेको बताएकी छन् । जीपी कोइराला फाउण्डेशनद्वारा राजधानीमा आयोजित अन्तर कलेज बहस कार्यक्रममा बोल्दै सहमति, सहकार्य र एकताले नै राजनीतिक संकटले निकास पाउने बताइन् ।
 
‘देशमा राजनीतिक संकट बढ्नुमा सहमति, सहकार्य र एकताको भावना नहुनु हो ,’ जीपी कोइराला फाउण्डेशनकी अध्यक्ष समेत रहेकी कोइरालाले भनिन् ,‘गिरिजाबाबुले जहिले पनि सहमति, सहकार्य र एकता भन्नुहुन्थ्यो जसको आवश्यकता अहिले झन् बढेको छ ।’ समस्या हुनु स्वभाविक भएको र त्यसलाई पार लगाउन सबै दल मिलेर जानुपर्नेमा जोड दिइन् । नयाँ पुस्तालाई सहमति, सहकार्य र एकताको भावना विकास गर्न आग्रह गर्दै नेतृत्व विकासकै बखत मिलेर जाने भावना जागृत गराउनुपर्ने बताइन् । सकारात्मक सोचले नै देशमा शान्ति, समृद्धी र दीगो विकास प्राप्त हुने कोइरालाको भनाई थियो ।
 
बहस कार्यक्रममा कलेज स्तरमा अध्ययनरत विद्यार्थीहरूले बेलायती संसदको ढाँचामा श्रम निर्यातको पक्ष विपक्षमा चर्को बहस गरेका थिए । श्रम निर्यातको बचाऊ गर्दै सत्तापक्षले रेमिट्यान्स भित्रनुका साथै वैदेशिक रोजगारीमा जानेले कुशलता सिकेर आउने तर्क गरे । प्रतिपक्षले श्रम निर्यातको विक्षमा बोल्दै देशको दक्ष जनशक्ति बाहिर जानुका साथै रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भएको तर्क गरे । बहसमा प्रवीण थापा उत्कृष्ट सहभागी घोषित भए । उत्कृष्ट टिममा गोल्डेन गेट कलेज घोषित भयो । प्रतियोगितामा उत्कृष्ट सहभागीलाई सुजाता कोइरालाले ट्रफी हस्तान्तरण गरिन् ।
 
कानुनविद् डा.सूर्य ढुंगेलले प्रतियोगितामा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै  नयाँ पुस्ताको समाजबारेको गहिरो बुझाईको प्रशंशा र देशमा असल पुस्ताको उदय हुनुले विकासले गति लिने आशा व्यक्त गरे। गिरिजाप्रसाद कोइरालाले शान्ति र विकासका लागि गरेको योगदानको व्याख्या गर्दै भावी पीढीले उनको मार्गदर्शनको अनुशरण गर्न सके देशमा सकारात्मक परिवर्तन आउने बताए ।
 
उनले देशमा संसदीय अभ्यासलाई बेवास्ता गरिन खोज्दा नयाँ पुस्ताले आफ्नो प्रयासमा गरेको संसदीय अभ्यासबाट भावी पीढीमा सकारात्मक सिकाई बढ्न जाने बताए  । संग्रहित लिखित संविधान नभएको बेलायतको शासनपद्धति विश्वमै उदाहरणीय भएको उल्लेख गर्दै त्यसको सफल प्रयोग गर्ने पद्धति र प्रणालीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । संघीयतामा जान लागेकाले तीन तहमा संसद रहने हुँदा संसदीय अभ्यासको प्रशिक्षण अति जरूरी रहेको बताए ।
 
पूर्व राजदूत डा.दिनेशचन्द भट्टराईले युवा क्षमता अभिवृद्धिमा बहस र प्रशिक्षण कार्यक्रम सहयोगी हुने बताए । विकासका लागि शान्ति अनिवार्य भएकाले लोकतन्त्रमा मात्र शान्तिको संवद्र्धन हुने भएकाले नयाँ पुस्तामा लोकतान्त्रिक अभ्यासको सोच विकास गर्नुपर्ने बताए । नयाँ पुस्तामा देखिएको जोस, जागर र चेतनास्तरबाट आफू उत्साही भएको बताए ।
 
कार्यक्रममा बहस आयोजकका तर्फबाट चेतनारायण रसाइलीले झगडा गर्ने संस्कृति भन्दा संवादको संस्कृति विकास हुने बताए । विगतमा बहसहरू योजना बनाउनेभन्दा विवाद चर्काउने दिशामा भएको उल्लेख गर्दै गतिलो परिणाममुखी बहसको संस्कृति विकास हुनुपर्ने बताए  । लोकतान्त्रिक संस्कार विकास गर्न युवाहरूमा वृत्तिविकासमुखी बहसमा जोड दिए । 
 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, पूर्व सांसद पुरुषोत्तम बस्नेत, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलगायतको उपस्थिति थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ