arrow

चन्द्रागिरीमा मदन स्मृति रंगशाला बन्दै, ओलीले गरे उद्घाटन

logo
प्रकाशित २०७३ पुष २३ शनिबार

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन स्मृति रंगशालाको उद्घाटन गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले  निर्माण सुरु गरेको रंगशालाको तस्वीर अनावरण गरी अध्यक्ष ओलीले सुभारम्भ गरेका हुन् । चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा स्थानीय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला निर्माण थालिएको हो । सुरुआतमा जग्गालाई सम्माएर मैदान बनाइएको छ ।

‘हाम्रो योजना बहुउद्देश्यीय रंगशाला निर्माण गरी हालको दशरथ रंगशालाको विकल्प दिनु हो ।’ एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले भने– ‘एकेडेमी, वन उपभोक्ता समिति र चन्द्रागिरी विकास मञ्चको संयुक्त पहलमा निर्माण कार्य सम्पन्न गर्नेछौं ।’

कार्यक्रममा अध्यक्ष ओलीले रंगशाला निर्माणको सुरुवात हुनु खेलकुदमा नयाँ अध्याय थपिनु हो भन्दै सानो आकारमा निर्माण सुरु गरिएको रंगशालाले भविष्यमा ठूलो रुप लिने विश्वास व्यक्त गरे । उनले सबै उमेरसमूहका लागि शारीरिक र मानसिक रुपमा स्वस्थ रहन खेलकुद महत्वपूर्ण माध्यम भएको बताउदै एकेडेमीले खेलकुदको क्षेत्रमा रचनात्मक कार्य गर्दै आइरहेको धारणा राखे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले स्थापनाको छोटो अवधिमा एकेडेमीले खेलकुदको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै रंगशाला निर्माणका लागि परिषद्ले सक्दो सहयोग गर्ने बचन दिए ।

एकेडेमीको विजयी सुरुवात

एकेडेमीकै आयोजनामा शनिबारदेखि सुरु प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगितामा आयोजक एकेडेमीले विजयी सुरुआत गरेको छ ।

उद्घाटन खेलमा एकेडेमीले साइनिङ सन फुटबल एकेडेमी, कैलालीलाई ४–१ गोलअन्तरले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ चुनिएका एकेडेमीका नरेन्द्र श्रेष्ठले २ तथा निमा लामाले १ गोल गरे । एक गोल आत्माघाती रह्यो । साइनिङका साजन बस्नेतले सान्त्वना गोल फर्काए ।

प्रतियोगिताको पनि अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए । चारदिने प्रतियोगितामा मोफसलका ३ सहित ८ टिम सहभागी छन् । एकेडेमीको आठौं स्थापना दिवसका उपलक्ष्यमा आयोजित प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ