arrow

दुई नाका केही खुकुलो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1673314239.jpeg

काठमाडौं । मधेसमा जारी आन्दोलनले असुरक्षा बढाएको भन्दै भारतले सीमानाकामा कडाइ गरिरहँदा शनिबार तीन नाकाबाट पेट्रोलियम बोकेका ४६ गाडी नेपाल प्रवेश गरेका छन्। जोगबनीबाट २८, रुपैडिहाबाट ११, गौरीफन्टाबाट सात ट्यांकर भित्रिएका हुन्।

धर्ना बसेका आन्दोलनकारीलाई हटाएपछि दुई सातादेखि अवरुद्ध रुपैडिहा नाका शनिबार खुकुलो भएको छ । नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त रुपमा धर्नाकारीलाई दसगजाबाट हटाएका हुन् । जोगबनी नाका पनि विगतको तुलनामा शनिबार केही खुकुलो थियो।

विराटनगर संवाददाताका अनुसार जोगबनी नाकाबाट नेपाल भित्रिएका ६३ मालवाहक गाडीमध्ये २८ वटा इन्धनवाहक ट्‌यांकर छन्। तिनमा चारवटामा पेट्रोल, एउटा ग्यास बुलेट र बाँकीमा डिजेल छ। नागरिक दैनिकमा समाचार छ ।

दुई दिनयता इन्धन बोकेका गाडी धमाधम नाका प्रवेश गरिरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। 'दुई दिनदेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ बोकेका गाडीलाई प्राथमिकता दिएको देखिन्छ,' कार्यालयका एक अधिकृतले भने, 'शुक्रबार र शनिबार मालवाहकसँगै पेट्रोलियम पदार्थका गाडीको फ्लो बढेको छ।'

जोगबनी नाकामा संघीय समाजवादी फोरमका उपाध्यक्ष रेणु यादवसहित आन्दोलनरत पक्षले अवरोध गरेपछि शनिबार दिउँसो सुरक्षाकर्मीसँग झडप भएको छ। आन्दोलनकारी दसगजा क्षेत्रमै धर्ना बसेपछि केही बेर आयात रोकिएको थियो। सुरक्षाकर्मीले धर्नाकारीलाई हटाउन खोज्दा झडप भएको हो। 'भिडलाई लाठीचार्ज गरेर भए पनि नाका नियमित गरायौं,' भन्सार राजस्व गस्ती सशस्त्र प्रहरीका डिएसपी अर्जुन सापकोटाले भने, 'आन्दोलनकारीलाई हटाउन खोज्दा भारतीय क्षेत्रबाट सुरक्षाकर्मीलाई ढुंगा हानेका थिए।'

धर्नाकारी हटाएपछि नाका खुकुलो
कोलहपुर संवाददाता टेकेन्द्र बस्यालका अनुसार जमुनाहा–रुपैडिया नाकाबाट शनिबार पेट्रोलियमका ११ सहित २४ वटा गाडी नेपाल भित्रिएका छन्। नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीले नाका थुनेर धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाएसँगै मालवाहक गाडी नेपाल छिरेका हुन्।

एलपी ग्यासका तीनवटा बुलेट, सात डिजेल र एक पेट्रोल ट्यांकरसहित २४ गाडी भित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

भारतीय भूमि र दसगजाको आड लिएर नाका थुन्दै आएका मोर्चा कार्यकर्तालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारतीय सीमा सुरक्षाबल (एसएसबी), भारतीय जनपद प्रहरीले हटाएका थिए । भारतीय सुरक्षाकर्मीले उनीहरूलाई भारततर्फ जान रोकेको थियो । नेपालतर्फ पनि सुरक्षाकर्मीले कडाइ गरेपछि आन्दोलनकारी तितरबितर भएका थिए। दुवै देशका सुरक्षाकर्मीले दसगजामा कडाइ गरेपछि आन्दोलनकारी भागेको जमुनाहा भन्सार प्रहरी चौकीका इन्चार्ज विष्णु गिरीले बताए।

नाकामा जुटेका आन्दोलनकारीलाई आधा घन्टामै त्यहाँबाट हटाइएपछि लामो समयदेखि सीमाक्षेत्रमा अलपत्र मालवाहक गाडी नेपाल प्रवेश गरेको भन्सार कार्यालय प्रमुख राजेन्द्र हमालले जानकारी दिए।

मधेसमा जारी आन्दोलनका कारण सुरक्षा नरहेको भन्दै एसएसबीले नाकामा कडाइ गर्दा नेपालका लागि सामग्री लिएर आएका अरू पनि थुप्रै गाडी सीमापारि अड्किरहेका छन्। डेढ महिनादेखि भारतीय भूमिमा बसेर मालवाहक सवारी रोक्दै आएका आन्दोलनकारीलाई हटाएपछि शनिबार भने नाका खुकुलो बनेको थियो। प्रहरीले नेपालतर्फ धर्ना बस्न कडाइ गरेपछि उनीहरू भारतीय भूमिमा बसेर नाका अवरोध गर्दै आएका थिए।

गौरीफन्टाबाट सात ट्यांकर
धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार गौरीफन्टा नाका हुँदै शनिबार सात ट्यांकर तेल भित्रिएको छ। २० हजार क्षमताका छवटा र १२ हजार क्षमताको एउटा ट्यांकरबाट १ लाख ३२ हजार लिटर डिजल भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय प्रमुख शरद पौडेलले बताए।


सुदूरपश्चिममा आपूर्ति गर्दै आएको भारतको मेनथरा डिपोले तेल नदिने जनाएपछि शनिबार त्यहाँ ट्यांकर नपठाइएको उनले जानकारी दिए। पौडेकाल अनुसार गत साता मेनथरा डिपोमा तेल भर्न पठाइएका सबै ट्यांकर नेपाल फर्किसकेका छन्। मेनथरा डिपोले ट्यांकर नपठाउन भनेकाले तेल दिने–नदिने अन्योल छ।

एकै दिन २० ट्यांकर तेल भरिदिँदै आएको डिपोले यसपटक त्यति ट्यांकर भरिदिन एक साताभन्दा बढी समय झुलाएको छ। भारत आयल कर्पोरेसनको केन्द्रीय कार्यालय मुम्बईको निर्देशन भन्दै डिपोले १० प्रतिशतभन्दा बढी तेल दिन नसकिने बताएको छ। 'खाली ट्यांकर नपठाऊ भन्नुले १० प्रतिशत तेल पनि रोक्ने नियत देखिन्छ,' पौडेल भन्छन्।

त्रिनगर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङका अनुसार शनिबार गौरीफन्टा नाकाबाट ५ सिमेन्ट, २ मकै र आलुका गरेर १५ मालवाहक ट्रक भित्रिएका छन्। यसै गरी तरकारीका २७ वटा पिकअप जिप, केमिकल बोकेको एउटा ट्यांकर पनि आइपुगेका छन्।

आइओसीको वचन
झापा संवाददाता राजु अधिकारीका अनुसार 'माथिको आदेश' भन्दै नेपाली ट्यांकरलाई सीमित इन्धन दिइरहेको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पूर्वी नाकामा बिदाको दिन पनि तेल दिने वचन दिएको छ। 'आइतबार उनीहरूको बिदाको दिन हो तैपनि तेल दिने वचन दिएका छन्', नेपाल आयल निगम चारआली शाखा प्रमुख कमलेश अर्यालले भने, 'त्यसैले आइतबार पनि थप इन्धन आउने कुरामा आशावादी छौं।'

शुक्रबार भित्रिएको २५ ट्यांकर इन्धनमध्ये १५ ट्यांकर डिजेल र ५ ट्यांकर पेट्रोल राजधानी पठाइएको छ। बाँकी ट्यांकर झापामै राखिएको छ। गृह मन्त्रालय, आपूर्ति मन्त्रालय र आयल निगमको निर्देशनमा ती ट्यांकर राजधानी पठाइएको निगमले जनाएको छ । निगमका अनुसार विराटनगर तेल झार्न गएका ट्यांकर आइतबार पुनः सिलिगुडी जानेछन्। काँकरभिट्टा नाकामा आन्दोलनकारीको अवरोध नरहे पनि 'असुरक्षा' कारण देखाउँदै नाकाबन्दी गरेको भारतीय पक्षले केही समययता दिन बिराएर सीमित पेट्रोलियम पठाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ