arrow

बुलेट किन्दा फाइदै फाइदा !

logo
प्रकाशित २०७३ पुष २५ सोमबार
gas-bullet.jpg.jpeg
काठमाडौं – खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेको छ ।
 
बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका बुलेट नहुँदा अहिलेसम्म भारतीय कम्पनीका बुलेटमार्फत ग्यास आयात गरिँदै आएको थियो । नेपाली नम्बरका बुलेट भित्रिएपछि भारतको एकाधिकार क्रमिक रुपमा तोडिँदै जाने उद्योगीको भनाइ छ ।
 
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्सारमा रोकिएका नेपाली नम्बरका ग्यास बुलेट भन्सार पास भई नेपाल भित्रिएको बताए । “पहिलो चरणमा परीक्षणका लागि दुइटा बुलेट नेपाल ल्याएका छौं,” घिमिरेले भने, “सबै प्रक्रिया मिलेर नेपाल भित्रिएकाले पनि एक/दुई दिनमै ग्यास ल्याउनका लागि ती बुलेट भारत जानेछन् ।”
 
उनले भारतमै निर्माण गरी राखिएका थप तीन सय बुलेट चाँडै नेपाल ल्याउने बताए । अध्यक्ष घिमिरेले भने, “नेपाली नम्बरका बुलेटबाट ग्यास आयात गर्दा ढुवानीमार्फत बाहिरिने अर्बौ रुपैयाँ नेपालमै रहन्छ ।” ग्यास ढुवानीबापत बाहिरिने वार्षिक साढे तीनदेखि ४ अर्ब रुपैयाँ बचत हुने उनको भनाइ छ ।
 
नेपाली बुलेटबाट ग्यास आयात गर्दा चालकदेखि सहचालकसम्म नेपाली नै रहने र सरकारलाई कर तिर्ने भएकाले ठूलो रकम बाहिरिनबाट बच्ने उद्योगीहरुको भनाइ छ ।
 
निजी उद्योगीले आफ्नै लगानीमा बुलेट तयार गरी नेपालमा ल्याएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएको थियो । उद्योगीका अनुसार एउटा बुलेट निर्माण गर्न ६० देखि ७० लाख रुपैयाँ लागेको छ । दुई तिहाई कर छुटमा उद्योगीले ग्यास बुलेट नेपाल ल्याएका हुन् ।
 
नेपाल आयल निगमका अनुसार सरदर मासिक ४ सय ५० बुलेटले ग्यास ल्याउने गरेका छन् । चिसोको समयमा ग्यासको खपत धेरै हुँदा ६ सय बुलेट ग्यास नेपाल आउने गरेको छ । निगमका अनुसार एक बुलेट ग्यास नेपाल ल्याउँदा १ लाख रुपैयाँ खर्च हुन्छ ।
कारोबार दैनिक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ